Techie IT
गृहपृष्ठसमाचारनुवाकोटमा ९औँ अन्तरविद्यालय प्रि-प्राइमरी लोकनृत्य प्रतियोगिता भदौ ५ गते हुने

नुवाकोटमा ९औँ अन्तरविद्यालय प्रि-प्राइमरी लोकनृत्य प्रतियोगिता भदौ ५ गते हुने


नुवाकोट । “नव प्रतिभा खोज्ने हाम्रो अभियान” भन्ने मूल नारासहित नुवाकोटमा ९औँ अन्तरविद्यालय (प्रि-प्राइमरी) तह खुल्ला लोकनृत्य प्रतियोगिता आयोजना हुने भएको छ।
सुन्दरादेवी सन्देश साप्ताहिकको मुख्य आयोजना तथा गुडविल एकेडेमीको व्यवस्थापनमा हुने प्रतियोगिता आगामी २०८३ भदौ ५ गते विदुर नगरपालिका–५ पिपलटारस्थित गुडविल एकेडेमीको प्राङ्गणमा सञ्चालन हुनेछ।
लोक कला, संस्कृति तथा नेपाली मौलिक परम्पराको संरक्षण, संवर्द्धन गर्दै बालबालिकामा लुकेका प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रि-प्राइमरी तहका विद्यार्थीहरूले एकल तथा समूहगत रूपमा सहभागिता जनाउन सक्नेछन्। एकलतर्फ दर्ता शुल्क रु. १,००० र समूहतर्फ रु. १,५०० निर्धारण गरिएको छ। दर्ता गर्ने अन्तिम मिति भदौ ३ गते तोकिएको छ।
प्रतियोगितामा सहभागीले अधिकतम पाँच मिनेटभित्र प्रस्तुति दिनुपर्नेछ भने नेपाली लोकगीतमा आधारित नृत्य मात्र प्रस्तुत गर्न पाइने आयोजकले जनाएको छ।
पुरस्कारतर्फ एकल विधामा प्रथम हुनेले रु. ११,१११, द्वितीयले रु. ६,६६६, तृतीयले रु. ३,३३३ र सान्त्वना पुरस्कारस्वरूप रु. १,५०० प्राप्त गर्नेछन्।
यस्तै, समूहतर्फ प्रथम हुने टोलीलाई रु. १५,००० र द्वितीय हुने टोलीलाई रु. १०,००० नगद पुरस्कार प्रदान गरिनेछ। अन्य पुरस्कारबारे कार्यक्रममै घोषणा गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा प्याब्सन नुवाकोट विदुर नगर समितिले समन्वय गरेको छ भने होटल मञ्जरी एण्ड रेस्टुरेन्ट, विदुर–१ होटल पार्टनरका रूपमा रहेको छ।
आयोजक संस्थाका प्रकाशक किरण प्रसाद अधिकारीले प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यालयहरूलाई भदौ ३ गतेभित्र दर्ता प्रक्रिया पूरा गर्न आग्रह गरेका छन्।
प्रतियोगितासम्बन्धी थप जानकारीका लागि ९८०८२४८८७० नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस