Techie IT
गृहपृष्ठसमाचाररोपाइँ गरिरहेका बेला पहिरो खस्यो, नुवाकोटमा ६ किसान घाइते

रोपाइँ गरिरहेका बेला पहिरो खस्यो, नुवाकोटमा ६ किसान घाइते


साउन ५, नुवाकोट — नुवाकोटको विदुर नगरपालिका–१२ भट्टगाउँमा धान रोपाइँ गरिरहेका बेला साउन ४ गते  पहिरो खस्दा ६ जना किसान घाइते भएका छन् भने करिब ७ रोपनी खेतीयोग्य जमिन बगेर नष्ट भएको छ।
स्थानीय नोमराज भट्टको खेतमा सोमबार बिहान किसानहरू धान रोपाइँमा व्यस्त रहेका बेला माथिबाट एक्कासि ठूलो पहिरो खसेको स्थानीयले बताएका छन्। पहिरो आउँदै गरेको थाहा पाएपछि अधिकांश किसान सुरक्षित स्थानतर्फ भाग्न सफल भए पनि ६ जना पहिरोमा परेर घाइते भएका हुन्।
घाइतेमध्ये ६५ वर्षीय नारायणप्रसाद भट्टको अवस्था गम्भीर रहेको छ। उनलाई पहिरोले करिब ७ देखि ८ सय मिटर तल जंगलतर्फ बगाएको थियो। स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा उद्धार गरी प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित ग्राण्डी अस्पताल पठाइएको छ।
अन्य पाँच जना घाइतेको स्थानीय चारघरे उपस्वास्थ्य चौकीमा उपचार गरिएको छ। उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ।
पहिरोका कारण करिब ७ रोपनी उर्वर खेतीयोग्य जमिन पूर्ण रूपमा बगेर भीरमा परिणत भएको छ। यसले स्थानीय किसानको उत्पादनमा ठूलो क्षति पुगेको छ।
वर्षायामसँगै पहिरोको जोखिम बढ्दै गएको भन्दै स्थानीयवासीले जोखिमयुक्त बस्ती तथा खेतीयोग्य जमिन संरक्षणका लागि दीर्घकालीन रोकथामका उपाय अवलम्बन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस