Techie IT
गृहपृष्ठसमाचारनवविवाहित महिलाको शङ्कास्पद मृत्यु, हत्या वा आत्महत्या भन्ने विषयमा अनुसन्धान

नवविवाहित महिलाको शङ्कास्पद मृत्यु, हत्या वा आत्महत्या भन्ने विषयमा अनुसन्धान


रौतहट, असार २८ (अशोक यादव)। रौतहटको कटहरिया नगरपालिका–३ बरेडवामा एक नवविवाहित महिलाको शङ्कास्पद मृत्यु भएपछि प्रहरीले हत्या वा आत्महत्या भन्ने विषयमा अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार कटहरिया नगरपालिका–३ बरेडवा निवासी निरज कुमार साह सोनारकी करिब २० वर्षीया श्रीमती निशा कुमारी साह सोनार शनिबार आफ्नै सुत्ने कोठामा साडीको पासो लगाई घरको बाँसको कोरोमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटहरियाबाट सई लालबाबु सहनीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय गरुडाबाट इन्स्पेक्टर प्रमोद खड्काको नेतृत्वमा थप टोली खटिएर घटनास्थलको मुचुल्का उठाएको प्रहरीले जनाएको छ।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको जनाएको छ।

यता, मृतकका बुबा ईशनाथ नगरपालिका–जटहरा गाउँ निवासी रबिन्द्र साह सोनारले आफ्नी छोरीको हत्या गरिएको आरोप लगाएका छन्। उनका अनुसार ज्वाइँ निरज साह सोनार तथा उनका परिवारका सदस्यले घटनालाई आत्महत्याजस्तो देखाउन शव झुन्ड्याएका हुन्। घटनापछि निरज साह घर छाडेर फरार रहेको पनि उनले दाबी गरेका छन्।

रबिन्द्र साहका अनुसार गत फागुनमा छोरीको विवाह भएको थियो। विवाहपछि ज्वाइँले एसी, दाइजो स्वरूप नगद रकमलगायत विभिन्न माग गर्दै छोरीलाई निरन्तर मानसिक यातना दिने, कुटपिट गर्ने तथा दबाबमा राख्ने गरेको आरोप उनले लगाएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले घटनाको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन र अनुसन्धानपछि मात्रै खुल्ने बताए। उनले हालैको अवस्थामा कसैलाई दोषी ठहर गर्न नमिल्ने उल्लेख गर्दै सबै पक्षबाट प्रमाण संकलन गरी आवश्यक अनुसन्धान भइरहेको जानकारी दिए।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस