नुवाकोटमा भारी वर्षाको जोखिम: साउन २ र ३ गते राति सवारी साधन सञ्चालनमा पूर्ण रोक
विदुर, नुवाकोट
मिति: २०८३ साउन २
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पूर्वानुमान अनुसार नुवाकोट लगायतका विभिन्न जिल्लाहरूमा साउन २ गते शनिबार र साउन ३ गते आइतबार भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको छ। वर्षाका कारण अचानक बाढी, पहिरो, गेग्रान बहाव तथा सडक अवरोध हुन सक्ने उच्च जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय, नुवाकोटले एक जरूरी सूचना जारी गरेको छ।
रात्रिकालीन सवारी आवतजावत बन्द
विपद्को जोखिम न्यूनीकरण र सर्वसाधारणको सुरक्षालाई मध्यनजर गर्दै प्रशासनले मिति २०८३ साउन २ र ३ गते राति १०:०० बजेदेखि बिहान ०५:०० बजेसम्म नुवाकोट जिल्ला भएर चल्ने र अन्य जिल्लाबाट यस जिल्लामा भित्रिने सम्पूर्ण सार्वजनिक तथा निजी सवारी साधनहरूको आवतजावतमा पूर्ण रूपमा रोक लगाएको छ।
तर, अत्यावश्यक सेवाका सवारी साधनहरू जस्तै:
- एम्बुलेन्स
- दमकल
- सुरक्षा निकायका सवारी साधनहरू भने रोकटोक बिना सञ्चालन हुन पाउनेछन्।
सर्वसाधारण र व्यवसायीलाई आग्रह
प्रशासनले मौसमको प्रतिकूलता र सडकको अवस्था हेरेर जुनसुकै बेला पनि सवारी आवागमन रोक्न वा खुला गर्न सकिने जनाएको छ। त्यसैले यो अवधिमा अत्यन्त जरुरी काम नपरी घरबाहिर ननिस्कन र रात्रिकालीन समयमा यात्रा नगर्न सम्पूर्ण सर्वसाधारण, यातायात व्यवसायी तथा सरोकारवालाहरूमा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीद्वारा जारी सूचनामा अनुरोध गरिएको छ।
📞 आपतकालीन सम्पर्क नम्बरहरू
विपद् सम्बन्धी जानकारी वा सहयोगका लागि प्रशासनले निम्न हटलाइन नम्बरहरूमा सम्पर्क गर्न आग्रह गरेको छ:
- नेपाल प्रहरी: १००
- सशस्त्र प्रहरी बल: १११४
- जिल्ला आपतकालिन केन्द्र (DEOC): १२३४
क्याटेगोरी : समाचार





















प्रतिक्रिया दिनुहोस