क्षेत्र नं. १ नुवाकोटमा रास्वपाको जितका लागि लिखु निर्णायक हुने दाबी
नुवाकोट – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नुवाकोट क्षेत्र नम्बर १ मा आफ्नो पक्षमा बलियो माहोल बनेको दाबी गरेको छ। विशेषगरी लिखु गाउँपालिका मा पार्टीप्रति देखिएको उत्साह र समर्थनले समग्र निर्वाचन परिणामलाई प्रभावित गर्ने विश्लेषण गरिएको छ।
रास्वपाका लिखु गाउँपालिकाका सभापति विष्णु कुमार श्रेष्ठको सक्रियतामा संगठन विस्तार, घरदैलो, भेटघाट तथा अन्तरक्रिया कार्यक्रमहरू तीव्र रूपमा सञ्चालन भइरहेका छन्। स्थानीय तहमा पार्टीप्रति आकर्षण उल्लेखनीय रूपमा बढेको नेताहरूको भनाइ छ।
आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर १ नुवाकोटमा रास्वपालाई जिताउन लिखु गाउँपालिकाको मतले महत्वपूर्ण भूमिका खेल्ने दाबी गरिएको छ। पार्टीका स्थानीय नेताहरूका अनुसार लिखु गाउँपालिकामा रास्वपा पहिलो दल बन्ने अवस्था सिर्जना भएको छ।
यसैबीच, क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार डा. बिक्रम तिमिल्सिना प्रति लिखुमा अत्यधिक क्रेज देखिएको बताइएको छ। युवा, शिक्षित तथा परिवर्तन चाहने मतदाताहरूको उल्लेखनीय समर्थन तिमिल्सिनाले पाएको दाबी गरिएको छ।
लिखु गाउँपालिकामा देखिएको सक्रियता र उत्साहले नुवाकोट क्षेत्र नम्बर १ को समग्र चुनावी समीकरण नै फेरिन सक्ने राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। अब फाल्गुन २१ को मतपरिणामले यो दाबी कति सत्य सावित हुन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।
क्याटेगोरी : समाचार





















प्रतिक्रिया दिनुहोस