लामो प्रतीक्षापछि आफ्नै भवनको बाटो खुल्यो, लिखु गाउँपालिकालाई सरकारी जग्गा प्राप्त
नुवाकोट — लामो समयदेखिको प्रयासपछि नुवाकोटको लिखु गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणका लागि सरकारी जग्गा प्राप्त गरेको छ।

भूमि प्रशासन कार्यालय, नुवाकोटले जिल्ला स्तरीय सिफारिस समितिको निर्णयअनुसार गाउँपालिकालाई ६ रोपनी ५ आना १ पैसा ३ दाम सरकारी जग्गा उपयोग गर्न प्रमाणपत्र प्रदान गरेको हो। उक्त जग्गा हालको लिखु गाउँपालिका–४ (साविक चौघडा–८) मा रहेको छ।
गाउँपालिकाले अब सोही जग्गामा आफ्नै प्रशासकीय भवन निर्माणको प्रक्रिया अघि बढाउने जनाएको छ। हाल वडा नम्बर ३ भलादमी डाडा बाट सञ्चालन हुँदै आएका कार्यालय तथा सेवाहरू आफ्नै भवनबाट सञ्चालन गर्न सकिने भएपछि सेवा प्रवाह थप व्यवस्थित, प्रभावकारी र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ।
वर्षौंदेखि आफ्नै प्रशासकीय भवनको अभाव झेल्दै आएको लिखु गाउँपालिकाका लागि जग्गा प्राप्ति महत्त्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। अब भवन निर्माणको प्रक्रिया अगाडि बढ्ने भएकाले स्थानीयवासी पनि उत्साहित बनेका छन्।
क्याटेगोरी : समाचार





















प्रतिक्रिया दिनुहोस