१२ वर्षपछि मिल्यो जुम्ला जाजरकोट जोड्ने सडक विवाद
निर्माणकार्य थालिएको १२ वर्षपछि जाजरकोट–जुम्ला सडकको विवाद मिलेको छ।
विभिन्न स्वार्थका कारण सडक जथाभावी निर्माण हुँदा यातायातका हलुका सवारीसाधन चल्न धौधौ परेको यस सडक खण्डको प्राविधिक (स्टिमेट) लागतसमेत बदलिएपछि विवाद मिलेको हो।
प्राविधिकलाई अनावश्यक दबाब दिएर स्टिमेटभन्दा बाहिर गई निर्माण गरिएको यो सडकमा यातायातका साधन चल्न नसक्ने अवस्था सिर्जना भएपछि अहिले सबै सरोकारवाला निकायको उपस्थितिमा स्टिमेट बदलेर सडक पूर्ण निर्माण गर्ने सहमति भएको हो।
विवाद सल्ट्याउन प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले समन्वय गरेका थिए। सिंहसँगै गएका सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख नरेन्द्र भट्ट, पूर्वसांसद भक्तबहादुर शाह, जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर रावल, भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीलगायतको टोलीले स्थानीयसँग छलफल गरेर विवाद मिलाएका हुन्।
पूर्वसभासद् भक्तबहादुर शाहको घर हुँदै जाने सो सडक, उनी संविधानसभाका सभासद् भएको बेला निर्माण भएको थियो।
एउटै गाउँमा १२ मोड बनाएर सडकमा यातायातका साधन मोड्न नसक्ने अवस्था सिर्जना भएपछि यातायातका साधन चल्न नसक्ने अवस्था सिर्जना भएको थियो।
यो सडकलाई कर्णाली प्रदेश सरकारले लुम्बिनी, जाजरकोट, खलङ्गा, बाहुनथाना, राङ्सी, पाँचकाटिया जुम्ला हुँदै रारा जोड्ने रणनीतिक महत्वको रूपमा लिंदै आएको छ।
विवादका कारण सडकको स्तरोन्नति हुन नसक्दा सडक निर्माणकार्य अलपत्र पर्दै आएको थियो । अहिले सो सडकखण्डमा ग्राबेलको कामसँगै फराकिलो बनाउने कार्यसमेत शुरु भएको प्रदेशसभा सांसद सिंहले बताए। विवादका कारण सडक मर्मत गर्न समस्या भएकाले अब समाधान भएपछि काम अगाडि बढ्ने डिभिजन प्रमुख भट्टले बताए।
क्याटेगोरी : देश, समाचार, समाज
प्रतिक्रिया दिनुहोस