Techie IT
गृहपृष्ठसमाचारविद्यालयमा फेसबुक–टिकटक बन्द गर्ने पञ्चकन्याको निर्णय

विद्यालयमा फेसबुक–टिकटक बन्द गर्ने पञ्चकन्याको निर्णय


नुवाकोट, असार ७ । नुवाकोटको पञ्चकन्या गाउँपालिका ले विद्यालयको शैक्षिक वातावरणलाई थप व्यवस्थित र अध्ययनमुखी बनाउन विद्यालय समयमा फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।


गाउँपालिकाको शिक्षा शाखाका अनुसार विद्यालयमा इन्टरनेटको पहुँचलाई शैक्षिक तथा रचनात्मक प्रयोजनमा मात्र उपयोग गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो। निर्णयअनुसार विद्यालय समयमा विद्यार्थी तथा शिक्षक–कर्मचारीले अध्ययन–अध्यापनसँग सम्बन्धित वेबसाइट तथा अन्य उपयोगी इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन्, तर फेसबुक, टिकटक तथा यस्तै प्रकृतिका सामाजिक सञ्जालहरू भने प्रयोग गर्न पाइने छैन।


यस सम्बन्धमा गाउँपालिकाले सूचना जारी गर्दै सबै विद्यालयलाई आफ्नो इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी विद्यालयको इन्टरनेट नेटवर्कबाट फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा पहुँच नहुने गरी आवश्यक सेटिङ मिलाउन निर्देशन दिएको छ। उक्त व्यवस्था अनिवार्य रूपमा कार्यान्वयन गर्न पनि गाउँपालिकाले विद्यालयहरूलाई आग्रह गरेको शिक्षा शाखाले जनाएको छ।
गाउँपालिकाका अनुसार सामाजिक सञ्जालको अत्यधिक प्रयोगका कारण अध्ययनमा असर पर्न सक्ने भएकाले विद्यालयको सिकाइ वातावरणलाई प्रभावकारी बनाउन यो कदम चालिएको हो। यस निर्णयले विद्यार्थीहरूलाई इन्टरनेटको सदुपयोग गर्दै अध्ययन, अनुसन्धान तथा शैक्षिक गतिविधिमा बढी केन्द्रित हुन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस