Techie IT
गृहपृष्ठसमाचाररास्वपा केन्द्रीय सदस्य लड्दै पर्यटन व्यवसायी सुमन पाण्डे

रास्वपा केन्द्रीय सदस्य लड्दै पर्यटन व्यवसायी सुमन पाण्डे


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्यटन विभाग प्रमुख सुमन विक्रम पाण्डेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने रास्वपाको केन्द्रीय महाधिवेशनमा उहाँले केन्द्रीय सदस्यका लागि निर्वाचन लड्ने तयारी गर्नुभएको हो ।

  1. ​नुवाकोटका स्थायी बासिन्दा पाण्डे करिब ३६ वर्षदेखि नेपालको पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्ष, एयरलाइन्स एसोसिएसन अफ नेपाल (आवान) को महासचिव र नेपाल पर्यटन बोर्डको सदस्यका रूपमा काम गरिसक्नुभएको छ । साथै, प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) अन्तर्राष्ट्रिय मुख्यालयमा कोषाध्यक्ष, सचिव र उपाध्यक्ष जस्ता उच्च पद सम्हाल्नुभएका पाण्डेलाई पाटाले ‘आजीवन सदस्यता’ बाट समेत सम्मानित गरेको छ ।

​पर्यटनसँगै सामाजिक र वातावरणीय क्षेत्रमा सक्रिय पाण्डेले ‘हरियो नुवाकोट’ अभियानमार्फत स्थानीय कृषकहरूलाई डेढ लाख फलफूलका बिरुवा वितरण गर्नुभएको थियो । उहाँ गत २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर २ बाट रास्वपाको उम्मेदवार बन्दै १६ हजार ४ सय ७७ मतका साथ दोस्रो स्थानमा रहनुभएको थियो ।

​पार्टीभित्र आफ्नो व्यावसायिक दक्षता, नीतिगत ज्ञान र सांगठनिक अनुभवलाई संस्थागत गर्न आफूले उम्मेदवारी दिन लागेको पाण्डेले बताउनुभयो । लामो व्यावसायिक र अन्तर्राष्ट्रिय अनुभव बोक्नुभएका पाण्डेको उम्मेदवारीलाई रास्वपा महाधिवेशनमा विशेष चासोका साथ हेरिएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस