पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा रामहरि गजुरेल
असार १, नुवाकोट । नेपाल पत्रकार महासंघ नुवाकोटको अध्यक्षमा पत्रकार रामहरि गजुरेलले जिम्मेवारी सम्हालेका छन् ।

विगत २० वर्षदेखि पत्रकारितामा क्रियाशील गजुरेलले आगामी डेढ वर्षका लागि महासंघ जिल्ला शाखालाई हाँक्नेगरी आज सदरमुकाम विदुरस्थित कार्यालयमा पदभार लिएका हुन् । तीन वर्षे कार्यकालका लागि डेढ वर्षअघि भएको महासंघको निर्वाचनमा दुईवटा टिमबीच चुनावी प्रतिष्पर्धा भएकोमा अध्यक्षमा भने दुवै उम्मेद्वारको बराबर मत आएपछि विद्यानमा व्यवस्था भएअनुसार आधा÷आधा कार्यकाल नेतृत्व गर्नेगरी बाँडफाँडको सहमति गरिएको थियो । जसअनुसार प्रतिष्पर्धी उम्मेद्वार नमराज सुवेदीको डेढवर्र्षे पहिलो नेतृत्व अवधि समाप्ति भएसँगै गजुरेलले आफ्नो बाँकी समयको कार्यकालका लागि नेतृत्व सम्हालेका हुन् ।

१२ वर्षअघि महासंघ नुवाकोटमा पदाधिकारीमा निर्वाचित भएका उनले महासंघको बागमति प्रदेशका संस्थापकमध्येका एक हुन् । जहाँ दुई कार्यकाल प्रदेश समितिको जिम्मेवारीको अनुभव हुनुका साथै प्रेस सेन्टर नेपालको तीन कार्यकाल करिब ११ वर्ष नुवाकोटको नेतृत्व गरिसकेका छन् ।
पदभार ग्रहण गर्दै उनले लोकतन्त्र र नागरिक स्वतन्त्रताका निम्ति लड्दै आएका श्रमजीवी पत्रकार र सञ्चारमाध्यामको हकहित, प्रेस र अभिव्यक्ति स्वतन्त्रताका साथै जनताको सुसुचित हुन पाउने मौलिक अधिकारका निम्ति संघर्ष गरिराख्ने प्रतिबद्धता व्यक्त गरे । ‘नागरिक सरकार भनिएको अहिलेको राज्यसत्ताले गणतान्त्रिक शासन व्यवस्थामा पनि स्वतन्त्रता र न्यायको पक्षमा खबरदारी गर्ने दायित्व बोकेको सिंगो नेपाली प्रेस जगतमाथी अंकुश लगाउने षड्यन्त्रका विरुद्ध हामी अझैं लड्नुपर्नेछ’, अध्यक्ष गजुरेलले पत्रकारहरुसँग लोकतान्त्रिक व्यवस्थाबिरोधि कार्यविरुद्ध निडरताका साथ खबरदारी गर्न अपिल गरे ।
यस अवसरमा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रिय सदस्य सुनिल खड्का, प्रेस सेन्टर नेपालका बागमति प्रदेश अध्यक्ष ध्रुवराज अधिकारी, कोषाध्यक्ष राजेन्द्र गजुरेल, प्रत्रकार महासंघ बागमतीका सदस्य सुनिल विष्ट, संस्थापक सदस्य शर्मिला उप्रेती लगायतले पछिल्लो समय राज्यतहबाटै प्रेस र अभिव्यक्ति स्वतन्त्रता मासिने खतरा बढ्दै गएकोले यसको रक्षार्थ पत्रकार महासंघको भूमिका अझ बढेर गएको विचार व्यक्त गरे ।
क्याटेगोरी : समाचार






















प्रतिक्रिया दिनुहोस