Techie IT
गृहपृष्ठसमाचारत्रिशुली अस्पतालको त्रैमासिक समीक्षा: इमर्जेन्सी उत्कृष्ट विभाग, डा. केसी सहित ३ कर्मचारी सम्मानित

त्रिशुली अस्पतालको त्रैमासिक समीक्षा: इमर्जेन्सी उत्कृष्ट विभाग, डा. केसी सहित ३ कर्मचारी सम्मानित


विदुर, नुवाकोट ।

त्रिशुली अस्पताल विदुर, नुवाकोटको नियमित त्रैमासिक समीक्षा, तथ्याङ्क भेरिफिकेसन तथा उत्कृष्ट विभाग र कर्मचारी घोषणा कार्यक्रम सम्पन्न भएको छ। अस्पताल व्यवस्थापन र सेवा प्रवाहलाई अझ चुस्त दुरुस्त बनाउने उद्देश्यले हरेक तीन महिनामा आयोजना हुने नियमित कार्यतालिका अनुसार उक्त कार्यक्रम सम्पन्न भएको हो।

​कार्यक्रममा गत चैत, वैशाख र जेठ महिनाको मासिक तथ्याङ्क सङ्कलन, डाटा भेरिफिकेसन, प्रस्तुतीकरणका साथै ई-वार्स (EWARS) ओरियन्टेसन समेत सञ्चालन गरिएको थियो। ई-वार्स सम्बन्धी अभिमुखीकरण डा. उसन श्रेष्ठले गराउनुभएको थियो भने फर्पिङ तथा ओ.सी.एम.सी (OCMC) सम्बन्धी कार्यप्रगति विवरण प्रेरणा तामाङले प्रस्तुत गर्नुभएको थियो।

​समीक्षा कार्यक्रममा अस्पतालका विभिन्न विभागका प्रमुख तथा प्रतिनिधिहरूले आ-आफ्नो विभागको सेवा प्रवाह, अवस्था र चुनौतीबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। जसमा इमर्जेन्सी विभागको तर्फबाट नोबिना बस्नेतले कुल बिरामी, बिमा तथा गैर-बिमा सम्बन्धी सेवा, चारु थापा मगरले सर्जरी केसहरू, प्रियङ्का शाहले प्रयोगशाला (ल्याब), मुना पाण्डेले हेमोडायलिसिस र चक्र थापाले ए.आर.टी. (ART) काउन्सिलिङ सेवाबारे जानकारी गराउनुभएको थियो। यस्तै, अञ्जना पाठकले जेनेरल वार्ड, बसन्ती पन्तले म्याटरनिटी वार्ड, शारदा पराजुलीले सामाजिक सेवा एकाइ (SSU) र सोनिया मगरले आइसीयू (ICU) विभागको प्रगतिको विवरण प्रस्तुत गर्नुभएको थियो।

इमर्जेन्सी उत्कृष्ट विभाग; डा. केसी, अधिकारी र तामाङ उत्कृष्ट कर्मचारी

त्रैमासिक कार्यसम्पादनको मूल्याङ्कनका आधारमा यस पटक अस्पतालको इमर्जेन्सी विभागलाई ‘उत्कृष्ट विभाग’ घोषणा गरियो। यस्तै, सेवा प्रवाहमा उत्कृष्ट योगदान पुर्‍याएबापत एनेस्थेसियोलोजिस्ट डा. सुजन केसी, कम्प्युटर अपरेटर विनिता अधिकारी र कार्यालय सहयोगी प्रेममाया तामाङलाई यस त्रैमासिकको ‘उत्कृष्ट कर्मचारी’ घोषित गर्दै सम्मान गरिएको छ।

​कार्यक्रममा विदुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष दिपक कायस्थ, त्रिशुली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकी, व्यवस्थापन समिति सदस्य अञ्जली पाण्डे र अस्पतालका निमित्त निर्देशक/मेसु डा. राजेन्द्र लामा लगायतको उपस्थिति रहेको थियो।

​समीक्षा बैठकमा बोल्दै अस्पतालका पदाधिकारीहरूले सिमित स्रोत साधनका बिच पनि अस्पतालले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिइरहेको र आगामी दिनमा यसलाई अझ प्रभावकारी र प्रविधिमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस