Techie IT
गृहपृष्ठसमाचारलिखुका ५६० महिला सीप सिकेर आत्मनिर्भरताको बाटोमा

लिखुका ५६० महिला सीप सिकेर आत्मनिर्भरताको बाटोमा


लिखु (नुवाकोट) ।

एक समय घरायसी कामकाजमै सीमित रहेका नुवाकोटको लिखु गाउँपालिकाका महिलाहरू सीपमूलक तालिम प्राप्त गरी आत्मनिर्भरताको बाटोमा अघि बढेका छन्। नेपाल सरकार राष्ट्रिय योजना आयोगको विशेष अनुदान कार्यविधि, २०८१ अन्तर्गत प्राप्त १ करोड ३ लाख रुपैयाँ बजेट र लिखु गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित महिला लक्षित सीपमूलक कार्यक्रम भव्य रूपमा समापन भएसँगै स्थानीय महिलाहरू व्यावसायिकतातर्फ आकर्षित भएका हुन्।

​गाउँपालिकाले इतिहासमै पहिलोपटक स्थानीय आवश्यकता र मागलाई ध्यानमा राखी एकैपटक १६ वटा विभिन्न विधामा बृहत् तालिम सञ्चालन गरेको थियो। उक्त तालिमहरूबाट पालिकाभित्रका कुल ५६० जना भन्दा बढी महिलाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। गाउँपालिकाका विभिन्न वडाहरूमा सञ्चालित तालिममा उन्नत बीउ उत्पादन, बेसार खेती, दुना–टपरी निर्माण, अचार तथा आलु चिप्स उत्पादन, डल निर्माण, सेनेटरी प्याड बनाउने विधि, ढाका बुनाइ, सिलाइ–बुनाइ र ब्युटिसियन लगायतका जीविकोपार्जनमुखी विषयहरू समेटिएका थिए। तालिममा सहभागी महिलाहरूले पहिले घरायसी काममा मात्र सीमित रहने समयलाई सीप सिक्ने अवसरमा रूपान्तरण गर्न पाएको भन्दै यसलाई जीवन परिवर्तनको माध्यम बनाएको बताएका छन्।

​तालिम समापनको अवसरमा लिखु गाउँपालिकाका अध्यक्ष धुर्व श्रेष्ठले महिलाहरूको क्षमता विकास र सशक्तीकरणमा पालिकाले ठुलो लगानी गरेको उल्लेख गर्नुभयो। “एकै पटक यति धेरै विधामा बृहत् रूपमा तालिम सञ्चालन गर्ने लिखु सम्भवतः पहिलो गाउँपालिका हो,” अध्यक्ष श्रेष्ठले भन्नुभयो, “पालिकाको यो लगानी बालुवामा पानी नबनोस्। सीप सिकेका महिलाहरूले अब निर्धक्क भएर व्यवसाय सुरु गर्नुहोस्, बाँकी जे-जे सहयोग चाहिन्छ, त्यो पालिकाले गर्नेछ।”

​कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले तालिम हलमा सिकेका कुराहरूलाई व्यवहारमा उतार्न आग्रह गर्दै व्यावसायिक रूपमा अगाडि बढ्ने महिलाहरूलाई पालिकाले नीतिगत तथा आर्थिक रूपमा सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाउनुभयो।

​त्यसैगरी, वडा नम्बर १ का अध्यक्ष नरहरी पाण्डेले लिखु गाउँपालिका सधैँ जनताको साथमा रहेको उल्लेख गर्दै सिकेको सीपको सही सदुपयोग गर्न अनुरोध गर्नुभयो। वडा नम्बर २ का अध्यक्ष प्रेम बहादुर थापा मगरले महिलाहरूलाई उद्यमी बनाउनकै लागि यो कार्यक्रम ल्याइएको स्पष्ट पार्दै आफ्नो आर्थिक अवस्था सुधार्न सिकेको सीपलाई व्यवहारमा उतार्नुपर्ने र यो अभियानलाई पालिकाले निरन्तरता दिने बताउनुभयो। वडा नम्बर ३ का अध्यक्ष सिताराम पुलामी मगरले तालिम लिएका महिलाहरूले आफ्नो टोल र समुदायका अरू महिलाहरूलाई पनि सीप सिकाएर सामूहिक रूपमा व्यावसायिक बन्न आग्रह गर्नुभयो।

​स्थानीय सरकारको प्रत्यक्ष निगरानी र सहजीकरणमा सञ्चालन गरिएको यो कार्यक्रमले लिखु गाउँपालिकामा उद्यमशीलताको नयाँ आधार निर्माण गरेको छ। यो बृहत् तालिमपछि अब लिखुका सयौँ महिलाहरू आत्मनिर्भर बन्ने र उनीहरूको आर्थिक तथा सामाजिक जीवनस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।

फोटोहरु


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस