पहिलो पटक टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा
२६ वैशाख, काठमाडौं । इंग्ल्याण्डको क्लब टोटनह्यामले नेदरल्याण्डको आयाक्सलाई हराएर च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ ।टोटनह्याम च्याम्पियन्स लिगको फाइनलमा पुगेको यो पहिलो पटक हो । टोटनह्यामले अब फाइनलमा इंग्ल्याण्डकै क्लब लिभरपुलसँग जुन २ तारिखमा प्रतिस्पर्धा गर्ने छ ।
उसले सेमिफाइनलको दोस्रो लेगमा आयाक्सलाई ३-२ ले हराएको थियो । पहिलो लेगमा भने ०-१ ले पराजित भएको थियो । समग्रमा स्कोर ३-३ भए पनि अवे गोलको आधारमा टोटनह्याम फाइनलमा पुगेको हो ।
टोटनह्याम पहिलो हाफमै दुई-शून्यले पछाडि परेको थियो । तर दोस्रो हाफमा लुकास मोउराको ह्याट्रिक मद्दतमा नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । आयाक्सका लागि पहिलो गोल कप्तान मेथिस डी लिटले ५ औं मिनेटमै गरेका थिए । त्यसपछि ३६ औं मिनेटमा हाकिम जियाकले टिमका लागि दोस्रो गोल गरे ।
तर लुकासले ५५ औं, ५९ औं र इन्जुरी समयमा गोल गर्दै टिमलाई जिताए । लुकास मोउरा च्याम्पियन्स लिगको सेमिफाइनलमा ह्याट्रिक गर्ने पाँचौं फुटबलर हुन् । यसअघि इटलीका डेल पिएरो, क्रोएशियाका इविका ओलिच, पोल्याण्डका रोबर्ट लेभेन्दोस्की र पोर्चुगलका क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए ।
युरोपको सबैभन्दा ठूलो टुर्नामेन्टको फाइलनमा तेस्रो पटक इंग्ल्याण्डकै दुई क्लब लिभरपुल र टोटनह्याम आमने-सामने हुनेछन् । यसअघि सन् २००८ मा च्याम्पियन्स लिगको उपाधि भिडन्तमा म्यानचेष्टर युनाइटेड र चेल्सी आमने-सामने भएका थिए । त्यसअघि १९७२ मा टोटनह्याम र ओल्भबीच युएफा कपको फाइनल भएको थियो, यद्यपि त्यो च्याम्पियन्स लिग थिएन ।
क्याटेगोरी : खेलकुद, समाचार
प्रतिक्रिया दिनुहोस