सात वर्षमा पोखरा–जोमसोम रुटमा तारा एयरको दुई ठूला दुर्घटना
पोखरा–जोमसोम रुटमा उडान भर्दै आएको तारा एयरका विमान सात वर्षमा दुई ठूला दुर्घटनामा परे । आइतबार पोखराबाट बिहान ९ः५५ बजे उडेको २२ जना सवार तारा एयरकोे ९ एनएइटी ट्विनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोबाङस्थित सानुसरेमा दुर्घटनामा परेको थियो ।
प्रतिकूल मौसम र भौगोलिक कठिनाइका कारण जहाज दुर्घटनामा परेको एक दिनपछि मात्रै हिमालको फेदीको सानुसरेमा जहाज ठोक्किएर दुर्घटना भएको घटनास्थल पत्ता लागेको थियो । दुर्घटनामा चालक दलसहित २२ जनाको मृत्यु भएको छ । जोमसोम विमानस्थल नपुग्दै कोबाङको सानुसरे डाँडोमा ठोक्किएर दुर्घटनामा परेको विमानमा सवार सबैको शव संकलन गरी काठमाडौं पठाइएको छ ।
तारा एयरको यसअघि २०७२ फागुन १२ गते तारा यएरको ९–एनएएचएच ट्विनअटर विमान म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको सोलीघोप्टे भिरमा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा दुई विदेशी नागरिक र चालक दलका तीनसमेत गरी २३ जनाको मृत्यु भएको थियो ।
सात वर्षको अवधिमा आइतबार भएको दोस्रो दुर्घटना हो । त्यसैगरी, २०७३ भदौ ३ गते जोमसोमबाट पोखराका लागि उडान भर्न लागेको तारा यएरकै ९–एमईक्यु ट्विनअटर विमान धावनमार्गमा पांग्रा नखुलेपछि कालीगण्डकी नदीमा खसेको थियो ।
पोखरा–जोमसोम रुटमा उडान भर्ने विमानले म्याग्दीको घोरेपानीसम्म पोखराको टावर र लेतेमाथिको आकाशदेखि जोमसोमसम्म जोमसोम विमानस्थलको टावरसँग सम्पर्क हुने भए पनि पहाड र हिमालको अवरोधका कारण घोरेपानीदेखि लेतेको आकाशसम्म विमान दुवैतर्फको सम्पर्कबाट विच्छेद हुन्छन् ।
योबीचको दूरी पार गर्न विमानलाई पाँचदेखि छ मिनेट लाग्ने गर्छ । दुवैतर्फको टावरबाट विच्छेद हुने ‘बफर जोन’को यही मार्गमा धौलागिरि र अन्नपूर्ण हिमालको बीच भएर विमानले उडान भर्नुपर्छ ।
क्याटेगोरी : रासस, समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस