१३ वडाका १५ विद्यार्थीले करिब ९० हजार रुपैयाँ बराबरको कम्प्युटर कोर्स निःशुल्क पढ्ने
नुवाकोट, जेठ २५ – विदुर नगरपालिकाका सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका आर्थिक रूपमा विपन्न तथा मेधावी विद्यार्थीहरूका लागि सूचना प्रविधि शिक्षाको नयाँ ढोका खुलेको छ। अब उनीहरूले करिब ९० हजार रुपैयाँ बराबरको ‘डिप्लोमा इन कम्प्युटिङ एन्ड आईटी’ कोर्ष निःशुल्क अध्ययन गर्ने अवसर पाउने भएका छन्।
विदुर निवासी युवा अभियन्ता तथा नेपाल युवा परिषदका केन्द्रीय अध्यक्ष सरोज बानियाँको पहलमा दूरशिक्षा एजुकेसन नेटवर्क प्रालिले छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्न सहमति जनाएपछि विद्यार्थीहरूका लागि यो अवसर सुनिश्चित भएको हो।

कार्यक्रम कार्यान्वयनका लागि विदुर नगरपालिका, नेपाल युवा परिषद र दूरशिक्षा एजुकेसन नेटवर्कबीच त्रिपक्षीय सम्झौता सम्पन्न भएको छ। सम्झौतापत्रमा विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, दूरशिक्षा एजुकेसन नेटवर्कका सञ्चालक कृष्ण पाण्डे तथा नेपाल युवा परिषदका केन्द्रीय अध्यक्ष सरोज बानियाँले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार विदुर नगरपालिकाका १३ वटै वडाबाट एक–एक जना तथा भैरवी माध्यमिक विद्यालयबाट थप दुई जना गरी कुल १५ जना विद्यार्थीलाई ६ महिने ‘डिप्लोमा इन कम्प्युटिङ एन्ड आईटी’ कोर्षमा पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ।
उच्च शिक्षाका लागि काठमाडौं आउने प्रतिभाशाली विद्यार्थीहरूलाई सूचना प्रविधि क्षेत्रमा दक्ष बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो। ग्रामीण तथा आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीलाई डिजिटल शिक्षासँग जोड्दै सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको नेपाल युवा परिषदका अध्यक्ष सरोज बानियाँले बताए।
उनका अनुसार यो कार्यक्रम एकपटकका लागि मात्र नभई आगामी वर्षहरूमा पनि निरन्तर सञ्चालन गर्ने योजना रहेको छ।
विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले सूचना प्रविधि वर्तमान युगको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै विपन्न तथा मेधावी विद्यार्थीलाई यस क्षेत्रमा अध्ययनको अवसर उपलब्ध गराउनु महत्वपूर्ण उपलब्धि भएको बताए। उनले यस कार्यक्रमले दक्ष जनशक्ति उत्पादन, रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा डिजिटल शिक्षाको पहुँच विस्तारमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरे।
सम्झौताअनुसार नेपाल युवा परिषदले कार्यक्रमको समन्वय तथा व्यवस्थापन गर्ने, सम्बन्धित निकायसँग सहकार्य गर्ने र विद्यार्थी छनोट प्रक्रियामा सहजीकरण गर्नेछ। विदुर नगरपालिकाले वास्तविक विपन्न, मेधावी तथा सूचना प्रविधिमा रुचि भएका विद्यार्थीको पहिचान, छनोट र सिफारिस गर्ने जिम्मेवारी लिएको छ।
त्यसैगरी दूरशिक्षा एजुकेसन नेटवर्कले ६ महिने डिप्लोमा कोर्ष सञ्चालन गर्ने, पूर्ण शुल्क छुट प्रदान गर्ने, आवश्यक शैक्षिक सामग्री, दक्ष प्रशिक्षक तथा अत्याधुनिक प्रयोगशालाको सुविधा उपलब्ध गराउने र कोर्ष सम्पन्न भएपछि प्रमाणपत्र प्रदान गर्ने जनाएको छ।
छात्रवृत्तिका लागि विद्यार्थी आर्थिक रूपमा विपन्न, अध्ययनमा उत्कृष्ट तथा सूचना प्रविधि क्षेत्रमा स्पष्ट रुचि र इच्छाशक्ति भएको हुनुपर्ने मापदण्ड तोकिएको छ।
यस कार्यक्रमले ग्रामीण तथा पिछडिएका क्षेत्रका विद्यार्थीलाई आधुनिक प्रविधिमैत्री शिक्षासँग जोड्दै उनीहरूको शैक्षिक, व्यावसायिक तथा रोजगारीका अवसर विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार






















प्रतिक्रिया दिनुहोस