Techie IT
गृहपृष्ठसमाचाररौतहटमा बालेन सरकारको पुतला दहन, नगरपालिकामा तालाबन्दी गर्दै सेवा सुचारु गर्न माग

रौतहटमा बालेन सरकारको पुतला दहन, नगरपालिकामा तालाबन्दी गर्दै सेवा सुचारु गर्न माग


अशोक यादव | रौतहट २५ असार
रौतहटको मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाइएको तथा नगरपालिकाबाट प्रदान हुँदै आएका विभिन्न सामाजिक सुविधा रोकिएको भन्दै स्थानीयवासीले बिहीबार विरोध प्रदर्शन गरेका छन्।
विरोधका क्रममा स्थानीयहरूले मौलापुरको आईटी चोकमा बालेन सरकारको पुतला दहन गर्दै “बालेन सरकार मुर्दाबाद”, “नगरपालिकामा हाकिम हाजिर गर” लगायतका नाराबाजी गरेका थिए। त्यसपछि उनीहरूले मौलापुर नगरपालिकाको कार्यालयमा तालाबन्दीसमेत गरेका छन्।
स्थानीयका अनुसार स्थानीय तह लागू भएदेखि तथा स्थानीय निर्वाचनका क्रममा गरिएको प्रतिबद्धताअनुसार नगरपालिकाले निःशुल्क खानेपानी, विद्युत् महसुलमा सहुलियत तथा विपन्न परिवारका छोरीको विवाहमा आर्थिक सहयोगलगायतका सुविधा उपलब्ध गराउँदै आएको थियो। ती सेवाले स्थानीयवासीलाई राहत पुगेको उनीहरूको भनाइ छ।
तर पछिल्लो समय ती सबै सुविधा बन्द भएपछि स्थानीयहरू आक्रोशित बनेका छन्। यसअघि सुविधा निरन्तर उपलब्ध गराउन माग गर्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गरिएको र अदालतले पनि पहिलेदेखि सञ्चालनमा रहेका सेवाहरू नियमित रूपमा सञ्चालन गर्न आदेश दिएको स्थानीयहरूको दाबी छ।
यद्यपि आर्थिक वर्ष २०८३/८४ को अन्तिम नगरसभाबाट पारित बजेट निकासा हुन नसकेको, नेपाल सरकारले हालसम्म आवश्यक चासो नदिएको तथा मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नखटाएकाले नगरपालिका सञ्चालनमा समस्या उत्पन्न भएको स्थानीयहरूको आरोप छ।
प्रदर्शनका क्रममा स्थानीयहरूले मन्त्री प्रतिभा रावलविरुद्ध पनि नाराबाजी गरेका थिए। उनीहरूले तत्काल प्रमुख प्रशासकीय अधिकृत खटाई नगरपालिकाको सेवा–सुविधा पुनः सञ्चालन गर्न सरकारसँग माग गरेका छन्।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस