Techie IT
गृहपृष्ठसमाचारनुवाकोटमा एचआईभी/एड्स सचेतना कार्यक्रम, २०२ संक्रमितको तथ्यांक सार्वजनिक

नुवाकोटमा एचआईभी/एड्स सचेतना कार्यक्रम, २०२ संक्रमितको तथ्यांक सार्वजनिक


नुवाकोट, विदुर — HIV/AIDS सम्बन्धी लाञ्छना तथा भेदभाव न्यूनीकरण गर्ने उद्देश्यले नुवाकोटमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा जनप्रतिनिधि, पत्रकार, प्रहरी, एचआईभी संक्रमित व्यक्ति तथा जोखिम समूहको सहभागिता रहेको थियो।
कार्यक्रम जनस्वास्थ्य कार्यालय नुवाकोट को आयोजनामा बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत सञ्चालन गरिएको हो। कार्यक्रममा एचआईभी संक्रमणको अवस्था, चुनौती र नियन्त्रणका उपायबारे विस्तृत छलफल गरिएको थियो।
जिल्लामा २०२ संक्रमित
कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार नुवाकोट जिल्लामा हालसम्म कुल २०२ जना एचआईभी संक्रमित पहिचान भएका छन्। “त्रिशुली प्लस” सस्था मार्फत सङ्कलित विवरणअनुसार स्थानीय तहगत रूपमा संक्रमितको संख्या फरक–फरक रहेको छ।
सबैभन्दा बढी संक्रमित दुप्चेश्वर गाउँपालिकामा ६८ जना रहेका छन्। त्यसपछि विदुर नगरपालिकामा ३८ जना र तादी गाउँपालिकामा २६ जना संक्रमित रहेका छन्। अन्य स्थानीय तहहरूमा पनि संक्रमितको उपस्थिति देखिएको छ।
पालिकागत विवरण
तथ्यांकअनुसार पञ्चकन्या गाउँपालिकामा ७, तारकेश्वर गाउँपालिकामा ११, किस्पाङ गाउँपालिकामा ७, बेलकोटगढी नगरपालिकामा ५, मेघाङ गाउँपालिकामा ५, शिवपुरी गाउँपालिकामा ३, लिखु गाउँपालिकामा २, सूर्यगढी गाउँपालिकामा १ र ककनी गाउँपालिकामा १ जना संक्रमित रहेका छन्।
लैङ्गिक तथा उमेर समूहगत अवस्था
जिल्लामा पुरुष ८१, महिला ९०, बालक ३ र बालिका ५ जना संक्रमित रहेका छन्। कुल १७९ जना स्थानीय तहभित्रका संक्रमित भए पनि अन्य जिल्लाबाट आएका तथा विशेष समूह (जस्तै कारागार) सहित संख्या २०२ पुगेको जनाइएको छ।


कार्यक्रममा वक्ताहरूले एचआईभी संक्रमितप्रति समाजमा अझै पनि लाञ्छना र भेदभाव रहेको औंल्याउँदै यसलाई अन्त्य गर्न सबै तहको सहकार्य आवश्यक रहेको बताए। संक्रमितलाई स्वास्थ्य सेवा, औषधि, परामर्श तथा सामाजिक सहयोगमा सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिइयो।
साथै, सुरक्षित यौन व्यवहार, नियमित परीक्षण र जनचेतना अभिवृद्धि नै एचआईभी नियन्त्रणको मुख्य उपाय रहेको सहभागीहरूले बताएका छन्।
नुवाकोटमा एचआईभी संक्रमणको अवस्था अझै चुनौतीपूर्ण रहेकाले स्थानीय तह, स्वास्थ्य निकाय र समुदायबीच सहकार्य गरी सचेतना, परीक्षण र उपचार सेवा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस