Techie IT
गृहपृष्ठसमाचारस्मार्ट विद्यालय निर्माणतर्फ लिखुको कदम

स्मार्ट विद्यालय निर्माणतर्फ लिखुको कदम


नुवाकोट — लिखु गाउँपालिका–४, चौघडास्थित  क्षेत्रपाल माध्यमिक विद्यालयमा सञ्चालन गरिएको ‘स्मार्ट विद्यालय निर्माण सम्बन्धी ५ दिने तालिम’  सम्पन्न भएको छ। शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न उक्त तालिमले सामुदायिक तथा निजि विद्यालयको गुणस्तर सुधार र आधुनिक, सुरक्षित तथा प्रविधिमैत्री शिक्षण वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको जनाइएको छ।


“हामी बनाउँछौँ हाम्रो विद्यालय : राम्रो विद्यालय” भन्ने नारासहित सञ्चालन गरिएको तालिममा शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सरोकारवाला पक्षहरूको सक्रिय सहभागिता रहेको थियो। तालिममार्फत विद्यालय व्यवस्थापन, प्रभावकारी कक्षा सञ्चालन, बालमैत्री वातावरण निर्माण, सरसफाइ तथा स्वास्थ्य सचेतना लगायतका विषयमा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।
समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष धुर्व श्रेष्ठले शिक्षा क्षेत्रको समग्र स्तर उन्नतिका लागि गाउँपालिका सधैं प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले सामुदायिक विद्यालयलाई गुणस्तरीय, सुरक्षित र प्रविधिमैत्री बनाउने अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाइने स्पष्ट पार्नुभयो।
शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुखले यस्ता तालिमलाई आगामी दिनमा प्रत्येक विद्यालयसम्म विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो। वडा नं. १ का वडा अध्यक्ष नरहरी पाण्डेले शिक्षा सुधारका कार्यक्रमलाई दीर्घकालीन रूपमा सफल बनाउन सबै पक्षबीच सहकार्य, समन्वय र प्रतिबद्धता आवश्यक रहेको धारणा राख्नुभयो।
तालिमले शिक्षक तथा विद्यार्थीको स्वास्थ्य सुधार, सुरक्षित विद्यालय वातावरण निर्माण तथा पठन–पाठन प्रक्रियालाई थप प्रभावकारी बनाउन उल्लेखनीय सहयोग पुगेको सहभागीहरूले बताएका छन्।
यसैबीच, सोही कार्यक्रममा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा लिखु गाउँपालिकाले प्रथम स्थान हासिल गरेको अवसरमा उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरिएको थियो।
गाउँपालिकाले शिक्षा र खेलकुद क्षेत्रलाई सँगसँगै अघि बढाउँदै गुणस्तरीय मानव संसाधन विकासतर्फ ठोस कदम चालिरहेको जनाएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस