Techie IT
गृहपृष्ठसमाचारविदुरमा किसानलाई बजारसँग जोड्दै कृषि हाटबजार सञ्चालन

विदुरमा किसानलाई बजारसँग जोड्दै कृषि हाटबजार सञ्चालन


स्थानीय किसानले उत्पादन गरेको तरकारी, फलफूल, हस्तकला तथा घरेलु उद्योगका सामग्री अब सिधै उपभोक्तासम्म पुग्ने भएका छन्। किसानको आम्दानी बढाउने र उपभोक्तालाई ताजा तथा स्वस्थकर उत्पादन सहज रूपमा उपलब्ध गराउने लक्ष्यसहित विदुर नगरपालिका ले कृषि हाटबजार सञ्चालनमा ल्याएको हो।

वडा नम्बर ४ बट्टारस्थित हावाघरमा आयोजित विशेष कार्यक्रममा नगरप्रमुख राजन श्रेष्ठ र उपप्रमुख प्रभा बोगटीले संयुक्त रूपमा हाटबजारको उद्घाटन गरेका छन्। नगरपालिकाका अनुसार, यस पहलले स्थानीय कृषि उत्पादनलाई उचित बजार दिलाउनुका साथै हस्तकला र घरेलु उद्योगका वस्तुहरूलाई पनि उपभोक्तासम्म सहज रूपमा पुर्‍याउनेछ।

नगरप्रमुख श्रेष्ठका अनुसार, किसानले आफ्ना उत्पादन बिक्री गर्न सहज वातावरण पाउने र उपभोक्ताले सहुलियत मूल्यमा ताजा सामग्री खरिद गर्न सक्ने उद्देश्यले यो बजार सुरु गरिएको हो। विशेषगरी बिचौलियाको भूमिका हटाएर किसान र उपभोक्ताबीच प्रत्यक्ष कारोबार गराउनेमा नगरपालिकाले जोड दिएको छ।

नयाँ व्यवस्था अनुसार हाटबजार अब नियमित रूपमा हप्तामा दुई दिन सञ्चालन हुनेछ। हरेक शनिबार वडा नम्बर ९ को कार्यालय परिसर (कोलनी) मा तथा हरेक आइतबार बिहान ७ बजेदेखि ११ बजेसम्म बट्टार हावाघरमा बजार लाग्नेछ।

नगरपालिकाले यसलाई स्थानीय अर्थतन्त्र सुदृढ बनाउने, किसानको उत्पादनलाई प्रोत्साहन गर्ने र उपभोक्तालाई गुणस्तरीय खाद्य सामग्री उपलब्ध गराउने दीर्घकालीन योजनाको सुरुआतका रूपमा लिएको जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस