Techie IT
गृहपृष्ठसमाचार“अभिव्यक्ति स्वतन्त्रताको नाममा भ्रम फैलाउन नहुने : सञ्चार मन्त्री”

“अभिव्यक्ति स्वतन्त्रताको नाममा भ्रम फैलाउन नहुने : सञ्चार मन्त्री”


६ वैशाख, विदुर — सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सञ्चार क्षेत्रलाई हल्ला र अपुष्ट सूचनाबाट टाढा रही जिम्मेवार पत्रकारिता गर्न आग्रह गर्नुभएको छ। आइतबार विदुर नगरपालिका–४, बट्टारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले अभिव्यक्ति स्वतन्त्रता महत्वपूर्ण भए पनि त्यसको नाममा भ्रामक सामग्री फैलाउनु उचित नहुने स्पष्ट पार्नुभयो।


उहाँले सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले आत्मअनुशासन र आचारसंहिता पालन गर्नुपर्नेमा जोड दिनुभयो। “सरकार सबै समस्याको समाधान कारबाहीबाट मात्रै खोज्ने पक्षमा छैन, सञ्चार क्षेत्र स्वयं जिम्मेवार बन्न आवश्यक छ,” उहाँले भन्नुभयो।
मन्त्री तिमिल्सिनाले हरेक समाचारले पार्ने प्रभावबारे गम्भीर विश्लेषण गर्नुपर्ने उल्लेख गर्दै भ्रामक सूचनाले छोटो समयमै ठूलो क्षति पुर्‍याउन सक्ने चेतावनी दिनुभयो। साथै, सरकारी विज्ञापन र सूचना प्रकाशनमा पारदर्शिता ल्याउन सरकारले नयाँ नीति कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो।
उहाँका अनुसार सरकारी सूचना सरकारी सञ्चारमाध्यममार्फत प्रवाह गर्ने व्यवस्था पारदर्शितासँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो। सञ्चार क्षेत्रमै उठेका अनियमितता अन्त्य गर्न सरकार अग्रसर रहेको उहाँको भनाइ छ।
त्यस्तै, सञ्चार क्षेत्र बलियो र जिम्मेवार नभएसम्म सरकार पनि प्रभावकारी बन्न नसक्ने उल्लेख गर्दै उहाँले श्रमजीवी पत्रकारको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। तथ्यमा आधारित र समाधानमुखी पत्रकारितामा जोड दिनुपर्ने उहाँले औँल्याउनुभयो।
मन्त्री तिमिल्सिनाले सरकारले काम र परिणाममार्फत जवाफ दिने नीति अवलम्बन गरेको स्पष्ट पार्दै भन्नुभयो, “सरकार अफवाह होइन, नीति र नतिजामा विश्वास गर्छ। सञ्चार जगत तथा नागरिकले सत्यमा आधारित भएर प्रश्न र खबरदारी गरे सरकार अझ जवाफदेही बन्छ।”
नयाँ सरकार गठन भएको छोटो समयमै जनताको आवश्यकता पहिचान गरी काम सुरु गरिएको उल्लेख गर्दै उहाँले सेवा प्रवाह सुधार, सुशासन र विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। विगतका कमजोरी सुधार्दै अहिले परिणाममुखी काम भइरहेको उहाँको दाबी छ।
उहाँले नागरिकलाई सरकारप्रति निरन्तर प्रश्न गर्न र निगरानी बढाउन आग्रह गर्दै सत्यमा आधारित आलोचना र सुझाव आवश्यक रहेको बताउनुभयो। साथै, प्रविधिको प्रयोग विस्तार गरी सेवा प्रवाहलाई सहज बनाउने योजना अघि सारिएको जानकारी पनि दिनुभयो।
युवालाई स्वदेशमै अवसर सिर्जना गर्ने लक्ष्यसहित काम भइरहेको उल्लेख गर्दै उहाँले तीनै तहका सरकारबीच सहकार्य र समन्वयलाई प्राथमिकता दिइने बताउनुभयो। अनावश्यक विवादभन्दा सहकार्यबाटै समाधान खोज्नुपर्नेमा उहाँले जोड दिनुभयो।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस