Techie IT
गृहपृष्ठसमाचारसर्वोच्चको आदेश: केपी शर्मा ओली र रमेश लेखक थुनामुक्त

सर्वोच्चको आदेश: केपी शर्मा ओली र रमेश लेखक थुनामुक्त


काठमाडौं — सर्वोच्च अदालत ले हिरासतमा रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकलाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।
न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेल को संयुक्त इजलासले हिजो उक्त आदेश दिएको हो। अदालतले उनीहरूको पक्राउलाई गैरकानुनी भनेको छैन, तर विभिन्न कारण देखाउँदै थुनाबाहिरै राखेर अनुसन्धान गर्न सरकारलाई निर्देशन दिएको छ।
आदेशमा दुवै जना आफ्ना माता–पिताको निधनपछिको आशौच (जुठो) मा रहेको अवस्थालाई मानवीय आधारका रूपमा लिइएको उल्लेख छ। यस्तो संवेदनशील समयमा थुनामा राखिरहनु उपयुक्त नहुने अदालतको ठहर छ।
त्यसैगरी ओली गम्भीर बिरामी भई त्रिवि शिक्षण अस्पताल मा भर्ना भई विशेष चिकित्सक टोलीको निगरानीमा उपचाररत रहेको तथ्यलाई पनि अदालतले रिहाइको प्रमुख आधार मानेको छ।
यसअघि सोही घटनामा पक्राउ परेका तत्कालीन काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल लाई हाजिर जमानीमा छाडिएको विषयलाई पनि अदालतले स्मरण गराएको छ। एउटै प्रकृतिको मुद्दामा अरूलाई छाडेर केहीलाई मात्र थुनामा राख्नु न्यायोचित नहुने आदेशमा उल्लेख गरिएको छ।
मिसिल अध्ययन गर्दा अभियुक्तहरूको बयानसहित अनुसन्धानका मुख्य कार्यहरू सम्पन्न भइसकेको देखिएकाले प्रमाण नष्ट हुने अवस्था नरहेको र हिरासतमा राखिरहनु आवश्यक नदेखिएको अदालतको राय छ।
काठमाडौं जिल्ला अदालत ले थप गरेको ५ दिनको म्याद भोलि सकिँदैछ। सर्वोच्च अदालतको आदेशअनुसार म्याद सकिएपछि वा त्यो अगावै मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसारको प्रक्रिया पूरा गरी उनीहरूलाई तत्काल हिरासतमुक्त गर्नुपर्नेछ।
उल्लेखनीय छ, भदौ २३ र २४ मा भएको नवयुवा आन्दोलनका क्रममा प्रधानमन्त्री र गृहमन्त्रीका रूपमा लापरवाही गरेको आरोपमा गौरीबहादुर कार्की आयोगको सिफारिसपछि प्रहरीले गत १४ गते उनीहरूलाई पक्राउ गरेको थियो।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस