Techie IT
गृहपृष्ठसमाचारमानसिक स्वास्थ्यसँगै जीविकोपार्जनमा टेवा: नुवाकोट–रसुवामा ‘रूपान्तरण’ परियोजना प्रभावकारी

मानसिक स्वास्थ्यसँगै जीविकोपार्जनमा टेवा: नुवाकोट–रसुवामा ‘रूपान्तरण’ परियोजना प्रभावकारी


नुवाकोट । नुवाकोट र रसुवा जिल्लाका जोखिमपूर्ण अवस्थाका व्यक्तिहरूको मानसिक स्वास्थ्य तथा मनोसामाजिक सु–स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘रूपान्तरण’ परियोजना प्रभावकारी बन्दै गएको छ। कोशिश संस्थाले सञ्चालन गर्दै आएको उक्त परियोजनाले मानसिक स्वास्थ्य सुधारसँगै जीविकोपार्जनमा समेत सहयोग पुर्‍याउँदै आएको जनाएको छ।
परियोजना अन्तर्गत नुवाकोटका पञ्चकन्या गाउँपालिकाका वडा नं. १, २, ३, ४ र ५, लिखु गाउँपालिकाका वडा नं. १, ३ र ४, विदुर नगरपालिकाका वडा नं. ३, ५, ७ र १३ तथा रसुवाको कालिका गाउँपालिकाका वडा नं. १ र ३ मा कार्यक्रम सञ्चालन भइरहेको छ।
जीविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत ६५ जनालाई लक्षित गरिएकोमा हालसम्म ५३ जनाले प्रत्यक्ष सहयोग प्राप्त गरिसकेका छन्। सहभागीहरूलाई मुख्य रूपमा बाख्रा पालन तथा साना व्यवसाय सञ्चालनका लागि सहयोग गरिएको छ।
विदुर नगरपालिका वडा नं. ३ र ५ मा ३/३ जनाले बाख्रा पालन सुरु गरेका छन् भने प्रत्येक वडामा १/१ जनाले पानीपुरी–चटपटे पसल सञ्चालन गरेका छन्। वडा नं. ७ मा ८ जना र वडा नं. १३ मा ४ जनाले बाख्रा पालन व्यवसाय अपनाएका छन्। रसुवाको कालिका गाउँपालिका वडा नं. ३ मा ८ जना र वडा नं. १ मा ३ जनाले बाख्रा पालन गरेका छन्।
लिखु गाउँपालिका वडा नं. १ मा ७ जनाले बाख्रा पालनसँगै १ जनाले सिलाइ व्यवसाय सुरु गरेका छन् भने वडा नं. ३ मा ७ जना र वडा नं. ४ मा ६ जनाले बाख्रा पालन गरेका छन्। वडा नं. ४ मा १ जनाले सिलाइ–बुनाइ व्यवसाय पनि सञ्चालन गरिएको छ।
बाख्रा पालन गर्ने सहभागीहरूलाई आवश्यक तालिम समेत प्रदान गरिएको परियोजनाले जनाएको छ।
परियोजना प्रमुख प्रबिण श्रेष्ठका अनुसार मानसिक स्वास्थ्य सुधारसँगै आयआर्जन जोड्दा सहभागीहरूको आत्मविश्वास र जीवनस्तरमा सकारात्मक परिवर्तन देखिएको छ।
लिखु गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष नरहरी पाण्डेले यस्ता कार्यक्रमले स्थानीय स्तरमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै मानसिक स्वास्थ्यजस्तो संवेदनशील विषयलाई आर्थिक सशक्तीकरणसँग जोड्नु प्रशंसनीय भएको बताए।
त्यस्तै, लिखु गाउँपालिका कार्यपालिका सदस्य चम्फाराज भण्डारीले कार्यक्रमले लक्षित वर्गको जीवनमा प्रत्यक्ष परिवर्तन ल्याएको बताउँदै सहभागीहरू क्रमशः आत्मनिर्भर बन्दै गएको र यस्ता कार्यक्रमलाई अझ विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गरे।
मानसिक स्वास्थ्य सुधारसँगै आर्थिक आत्मनिर्भरता बढाउने उद्देश्यले सञ्चालन गरिएको ‘रूपान्तरण’ परियोजना स्थानीय स्तरमा प्रभावकारी बन्दै गएको सरोकारवालाहरूले बताएका छन्।

 


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस