नुवाकोटमा ग्यास अभावपछि बजार अनुगमन
विदुर, चैत्र २ – बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि नुवाकोटमा बजार अनुगमन गरिएको छ। कृत्रिम अभाव सिर्जना हुने गरी ग्यास मौज्दात नगर्न जिल्ला प्रशासन कार्यालयले व्यवसायीलाई निर्देशन दिएको छ।
जिल्ला बजार अनुगमन समितिको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंको नेतृत्वमा वट्टार, गंगटे, पिपलटारलगायतका स्थानमा रहेका ग्यास डिपो, विक्रेता तथा पसलहरूमा छड्के अनुगमन गरेको हो।
अनुगमनका क्रममा अधिकांश स्थानमा ग्यासको अभाव देखिएको भए पनि केही व्यवसायीहरूले आएका सिलिण्डर तत्काल उपभोक्तालाई बिक्री गरिरहेको पाइएको छ।
उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटका प्रमुख सीताराम घिमिरेका अनुसार अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यास आपूर्तिमा देखिएको समस्या तथा मध्यपूर्व क्षेत्रमा बढेको तनावका कारण ग्यास आपूर्ति प्रभावित भएको हो।
उनले पहिलेको तुलनामा आपूर्ति केही घटे पनि उपभोक्तालाई ठूलो समस्या पर्ने अवस्था भने नरहेको बताए।
अनुगमनका क्रममा वट्टार दम्कीस्थित ग्यास विक्रेता राजु बोगटीले आफ्नो डिपोमा दैनिक रूपमा ग्यास आइरहेको जानकारी दिँदै सरकारले तोकेको मूल्यअनुसार उपभोक्तालाई ग्यास उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
अनुगमन टोलीमा खाद्य प्रविधि कार्यालय, पशु सेवा कार्यालय, प्रहरी तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। जिल्ला प्रशासन कार्यालय नुवाकोटले एलपी ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना नगर्न व्यवसायी तथा उपभोक्तालाई आग्रह गरेको छ।
क्याटेगोरी : समाचार





















प्रतिक्रिया दिनुहोस