परम्परागत दललाई नुवाकोटमा धक्का, रास्वपाको बलियो प्रवेश
नुवाकोटका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा यसपटकको मतपरिणामले जिल्लाको राजनीतिक परिदृश्यमा नयाँ सन्देश दिएको छ। लामो समयदेखि प्रभाव जमाउँदै आएका परम्परागत दलहरूलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेखनीय सफलता हासिल गरेको छ।
मतपरिणामअनुसार नुवाकोट–१ मा रास्वपाका डा. विक्रम तिमिल्सिना २२ हजार ६०९ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. प्रकाशशरण महतले १८ हजार ६१९ मत प्राप्त गरेका छन्। यसैगरी नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङले १३ हजार ४०३ मत ल्याएका छन् भने नेकपा एमालेका बद्री मैनालीले ८ हजार ७९२ मत पाएका छन्।
यो परिणामले नुवाकोटमा कांग्रेस र माओवादी केन्द्रको लामो समयदेखि कायम प्रभावमा कमी आएको संकेत गरेको राजनीतिक विश्लेषकहरूको भनाइ छ। नयाँ राजनीतिक विकल्पप्रति मतदाताको झुकाव बढ्दै गएको सन्देश पनि यस परिणामले दिएको बताइन्छ।
यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट–१ बाट माओवादी केन्द्रका हितबहादुर तामाङ र नुवाकोट–२ बाट नेपाली कांग्रेसका अर्जुननरसिंह केसी विजयी भएका थिए। तर यसपटक भने उनीहरू दुवैले आफ्नो प्रभाव कायम राख्न नसकेको देखिएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #hot






















प्रतिक्रिया दिनुहोस