डा. महतद्वारा चुनावी प्रतिज्ञापत्र सावृजनिक
नेपाली कांग्रेसको तर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा. प्रकाशरण महतले प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको छ ।
डा. महतले लिखु गाउँपालिका –१ ढिकुरे स्थित नेपाली कांग्रेसको सम्पर्क कार्यालयमा मंगलवार आयोजित पत्रकार सम्मेलमा डा. महतले प्रतिज्ञापत्र सार्वजनिक गर्नुभएको हो । नुवाकोटलाई आर्थिक–सामाजिक रूपान्तरणको मार्गमा अघि बढाउने प्रतिबद्धता सहित सार्वजनिक गरिएको प्रतिज्ञापत्रमा पूर्वाधार विकासलाई पहिलो प्राथमकिता दिइएको छ । टोखा–छहरे सुरुङमार्ग निर्माण प्रक्रिया अघि बढाउने, बालाजु–रानीपौवा–पिपलटार सडकको बाँकी खण्ड पूरा गर्ने, ढिकुरे–समुन्द्रटार–गोल्फुभञ्ज्याङ सडक सम्पन्न गर्ने, तिनपिप्ले–चाउँथे–कुमरी–गल्छी वैकल्पिक मार्ग निर्माण पूरा गर्ने मुख्य योजनाहरूमा राखिएको छ । यसबाहेक पालिकास्तरका सडक, पुल, सिंचाइ र खानेपानी व्यवस्थालाई प्राथमिकतामा राखिएको छ ।
पूर्वअर्थमन्त्री समेत रहनुभएका डा. महतको प्रतिज्ञा पत्रमा नुवाकोटको समृद्धिको आधार कृषि भएको उल्लेख गर्दै आधुनिक सिंचाइ, मल, बीउ र बजार पहुँच सुनिश्चित गर्ने उल्लेख गरिएको छ । स्थानीय उत्पादन स्ट्रबेरी, ट्राउट माछा, आलु, किवी, कफी लगायतलाई ब्राण्डिङ गर्दै प्रशोधन उद्योगसँग जोड्ने, शीतभण्डार निर्माण गर्ने र बजार मूल्य सुनिश्चित गर्ने योजना उहाँको रहेको छ ।
किसानलाई बाँदर, बँदेल, दुम्सी र मृगबाट हुने क्षति रोक्न नीतिगत समाधान खोजिने उहाँको भनाई छ । नुवाकोटमा पहिलो पटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेपनि यसअघि नै यहाँको विकासमा योगदान दिएको उल्लेख गर्दै उहाँले मतदातासँगको विश्वासलाई मतमा परिणत गर्न अपिल गर्नुभएको छ ।
डा. महतले आफू कुराभन्दा काममा विश्वास गर्ने नेता भएको दाबी गर्दै भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक विकास र जनजीवन सुधारमा केन्दीत हुने बताउनुभएको छ । युवालाई विदेश पलायन रोक्न कृषि, पर्यटन, उत्पादन र सूचना प्रविधिमा सीप विकास कार्यक्रम, उद्यमशील कोष र सार्वजनिक–निजी साझेदारीमा उद्योग स्थापना गर्ने योजना प्रतिज्ञापत्रमा समेटिएको छ । महिला सशक्तिकरण, स्वरोजगार, खेलकूद पूर्वाधार र युवा क्षमता विकासमा पनि योजनाबद्ध पहल गरिने उल्लेख गरिएको छ । विकास कुनै दलको नभई जनताको साझा अभियान भएको उल्लेख गर्दै उहाँले स्थानीय सरकार, निजी क्षेत्र, सहकारी र समुदायलाई एउटै लक्ष्यमा जोड्ने बताउनुभएको छ ।

क्याटेगोरी : समाचार





















प्रतिक्रिया दिनुहोस