Techie IT
गृहपृष्ठसमाचारडिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको मूल्य यथावत

डिजेल र मट्टितेलको मूल्य बढ्यो, पेट्रोलको मूल्य यथावत


नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमको सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू हुनेगरी यी दुई इन्धनमा प्रतिलिटर तीन रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो। भने, पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।

नयाँ मूल्यअनुसार डिजेल र मट्टितेल पहिलो वर्गका डिपो क्षेत्रमा प्रतिलिटर १३६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १३८ रुपैयाँ र तेस्रो वर्गमा १३९ रुपैयाँ कायम भएको छ। निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग तथा काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा वर्गीकरण गरेको छ।

उक्त मूल्य डिपोबाट १५ किलोमिटरसम्मको क्षेत्रमा लागू हुनेछ। यसैबीच, निगमले आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य भने घटाएको छ। आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँमा प्रतिकिलोलिटर सात अमेरिकी डलर घटाइएको छ। मूल्य घटेपछि आन्तरिक उडानतर्फको हवाई इन्धन प्रतिलिटर १२७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ९६६ अमेरिकी डलर कायम भएको छ।

इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ०.१२ पैसा, डिजेल र मट्टितेलमा ४ रुपैयाँ ६६ पैसा तथा एलपी ग्यासमा प्रतिसिलिन्डर ४५ रुपैयाँ ४९ पैसा बढेर आएको, जबकि हवाई इन्धनमा प्रतिलिटर १ रुपैयाँ ८ पैसा घटेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले जनाएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस