Techie IT
गृहपृष्ठसमाचारलिखुमा मत्स्य व्यवसाय प्रवद्र्धनः तालिमसँगै उपकरण वितरण

लिखुमा मत्स्य व्यवसाय प्रवद्र्धनः तालिमसँगै उपकरण वितरण


नुवाकोटको लिखु गाउँपालिकामा प्राकृतिक जलाशयमा माछा मारेर जीविकोपार्जन गर्दै आएका स्थानीय समुदायलाई लक्षित गरी तालिम तथा सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।  बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत मत्स्य विकास केन्द्र, कुलेखानी मकवानपुरले आयोजना गरेको कार्यक्रममा  माछापालन व्यवसायलाई व्यवस्थित र व्यावसायिक बनाउन सहयोग पु¥याउने उद्देश्यले एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरिएको केन्द्रले जनाएको छ । तालिममा आधुनिक मत्स्यपालन विधि, जलाशय व्यवस्थापन, माछाको संरक्षण, दिगो मत्स्य उपयोग तथा आम्दानी वृद्धिका उपायबारे सहभागीलाई प्रशिक्षण दिइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष धुर्व श्रेष्ठले यस्ता तालिम ग्रामीण समुदायका लागि अत्यन्त उपयोगी भएको बताए । उनले भने, “माछापालन र मत्स्य व्यवसाय लिखु गाउँपालिकाको महत्वपूर्ण सम्भावनाको क्षेत्र हो । प्रदेश सरकारको सहयोगमा सञ्चालन भएको यो कार्यक्रमले स्थानीयलाई सीप विकाससँगै रोजगारी र आम्दानी बढाउन ठोस टेवा पुग्नेछ । आगामी दिनमा पनि गाउँपालिकाले मत्स्य व्यवसाय प्रवद्र्धनका लागि आवश्यक पहल र समन्वयलाई निरन्तरता दिनेछौँ।”
तालिमसँगै माछा मार्न आवश्यक उपकरण, जाल, फुर्लुङ लगायत सामग्रीसमेत वितरण गरिएको छ । सहयोगस्वरूप प्राप्त सामग्रीले आफ्नो पेशा अझ प्रभावकारी र सुरक्षित ढंगले सञ्चालन गर्न सहज हुने विश्वास सहभागीले व्यक्त गरेका छन् ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुभद्रा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अशोक बिस्ट,  वडाअध्यक्षहरु तथा स्थानीय सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
यस किसिमका कार्यक्रमले ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गरी आय–आर्जन बढाउन महत्वपूर्ण भूमिका खेल्ने र स्थानीय मत्स्य व्यवसायको विकासमा दीर्घकालीन प्रभाव पर्ने मत्स्य विकास केन्द्रले जनाएको छ ।

हेर्नुस फोटोहरु


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस