लिखु गाँउपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

लिखु गाँउपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट चालु आर्थिक वर्ष २०८१÷८२ मा सम्पादित क्रियाकलाप, नागरिकहरुलाई प्रदान गरिएको सेवा, सुविधा लगायत लिखु गाँउपालिकाको समग्र विकास निर्माणको सम्बन्धमा जानकारी दिने र नागरिकहरुको प्रतिक्रिया संकलन गर्ने उद्देष्यले आयोजना गरिएको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
लिखु गाँउपालिका–१ ढिकुरे बजार स्थित पहरेघाटमा आयोजित ‘सार्वजनिक सुनुवाई’मा पालिकाबासी नागरिकहरुले राखेको जिज्ञासा, दिएको राय–सुझाब एंव गुनासोको गाँउपालिका अध्यक्ष ध्रुव श्रेष्ठ, उपाध्यक्ष सुभद्रा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शेरसिंह रावत सहित विषयगत शाखा, वडाअध्यक्ष एंव वडासचिवहरुबाट सम्बोधन भएको थियो ।
गाँउपालिका अध्यक्ष धु्रव श्रेष्ठको प्रमुख आतिथ्यता र वडा नं १ का अध्यक्ष नरहरि पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा ६ वटै वडा कार्यालय र गाँउपालिकको कार्यालयको हालसम्मको प्रगति विवरण, बिनियोजित योजना तथा कार्यक्रमको कार्यान्वयन, राजश्व संकलन, सेवा प्रवाहका सम्बन्धमा प्रस्तुतीकरण गरिएको थियो । त्यस पश्चातको खुला सत्रमा सेवाग्राहीले राखेको जिज्ञासामा कृषि, शिक्षा, स्वास्थ्य, सडक बाटो, पूर्वाधार निर्माण, तादी र लिखु खोलामा करिडोर निर्माण, मठमन्दिरको संरक्षण एंव पुर्ननिर्माण, पालिका भवन निर्माणमा भइरहेको ढिलाई लगायतका सुझाब तथा राय पेश गरेका थिए । नागरिकहरुबाट आएको सुझाब तथा राखेको जिज्ञासालाई अध्यक्ष ध्रुव श्रेष्ठ, उपाध्यक्ष सुभद्रा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शेरसिंह रावतले स्पष्ट पार्नुभएको थियो ।
गाँउपालिका अध्यक्ष श्रेष्ठले पालिकामा आफ्नो दोश्रो कार्यकालसम्मको अवधिमा गरेका कार्य, निर्माण गरेका संरचना तथा पुराएको योगदान अतुलनीय रहेकाले बाँकी रहेका र अति आवश्यक योजना तथा कार्यक्रमहरु आगामी वर्षको लागी कार्यान्वयनमा ल्याउन लागिएको जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले आफ्नो पहलमा केन्द्रीय सरकारबाट केही ठूला रकमका योजनाहरु सुनिश्चित गरिसकेको र बाकी रहेका योजनालाई अब प्रदेशमा समावेश गराउनको लागी पहल भइरहेको जानकारी दिनुभयो । ठूलो खर्च हुने योजना संघ र प्रदेशबाट बिनियोजन गर्न पहल गर्ने र टोलबस्तीमा सञ्चालन गर्नुपर्ने स–साना प्रकृतिका योजना र पालिकाको गौरवको योजनाहरु पािलकाको प्राथमिकतामा रहेको उहाँको भनाई छ । लिखु गाँउपालिका विभिन्न मापनमा पनि उत्कृष्ट हुदै बजेटको आकार समेत धेरै प्राप्त गर्न सकेको, सुशासन, बित्तीय जोखिम न्यूनिकरण, बेरुजु लगायतमा गाउँपालिकाको अबस्था निकै उत्कृष्ट हुनु पालिकाको जनप्रतिनिधि र कर्मचारीको ठूलो मिहेनतको उपलब्धी भएकाले यसलाई पालिकाबासीले गर्वको रुपमा लिन सक्नुपर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
उपाध्यक्ष अधिकारीले योजना सञ्चालनलाई गुणस्तर, पारदर्शी र दिगो हुने गरेर आफ्नो जिम्मेवारीमा रहेको योजनाहरुको अनुगमनको काम भइरहेको जानकारी दिनुभयो । लक्ष्य अनुसार राजश्व संकलन भइरहेको जानकारी दिदै सोही रकमबाट पालिकाबासीको माग अनुसार बजेट उपलब्ध गराउदै लिखु गाँउपालिकालाई नमूना पालिकाको रुपमा स्थापित गरिएको जानकारी दिनुभयो । न्यायिक समितिको कामकारबाही, जनताको गुनासो संकलन एंव राय सुझाब सुन्ने, महिला ज्येष्ठ नागरिक, अपाङ्कता भएका व्यक्ति, लक्षित वर्ग, विपन्न तथा आर्थिक रुपम कमजोर भएका समुदायसंग प्रत्यक्ष रुपमा जोडिएका कार्यक्रम सञ्चालन गरेरउनीहरुलाई लाभ पुग्ने र आर्थिक उपार्जनमा जोड्दै आएको, युवालाई सिप र रोज गारको सिर्जना गरेर विदेश जानुपर्ने बाध्यतालाई घटाउने र विदेशबाट फर्किएकालाई यही रोजगारमा संलग्न गराई घरघरमा खुसी भित्र्याउन पालिकाको तर्फबाट गर्नुपर्ने कार्यमा कुनै कमी नराखेको उपाध्यक्ष अधिकारीको भनाई छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेरसिंह रावतले गाँउपालिकाको सिमित श्रोत र साधनबाट लिखुबासीको जायज र आवश्यक रहेका मागहरु सम्बोधन गर्दै आइरहेको जानकारी दिनुभयो । योजना तर्जुमा तथा बजेट बिनियोजनको क्रममा जनताको न्यूनतम आवश्यकता पूरा गर्न गाँउपालिका प्रतिबद्धत रहेकाले जनताबाट पनि साथ र सहयोग हुनुपर्ने उहाँले बताउनुभयो । पालिकाले गरेका राम्रो कामको प्रशंसा गर्दै कहीँकतै हुन गएका त्रुटीलाई औल्याएर सुधार्न जनताले सुझाब दिनुपर्ने, तिर्नुपर्ने राजश्व समयमा नै बुझाउनुपर्ने, आफ्नो गाँउघर तथा समाजको विकास निर्माणको काममा श्रमदान गर्ने, कामको गुणस्तर कायम गराउने, सरकारी सम्पत्तिलाई व्यक्ति सरहको रुपमा सदुपयोग गर्ने लगायतमा पालिकाबासीको योगदान र सहयोगको अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत रावतको भनाई छ ।
कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विषयगत शाखाखको प्रमुखहरु, वडासदस्यहरु, गाँउपालिका र वडा कार्यालयमा कार्यरत कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सहकारीकर्मी, व्यावसायी, शिक्षक, विभिन्न समूह तथा संघसँस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस