Techie IT
गृहपृष्ठसमाचारराष्ट्रिय युवा परिषदअन्तर्गत ‘राष्ट्रिय युवा उद्यमी सञ्जाल’ गठन, सुशील पराजुली अध्यक्षमा चयन

राष्ट्रिय युवा परिषदअन्तर्गत ‘राष्ट्रिय युवा उद्यमी सञ्जाल’ गठन, सुशील पराजुली अध्यक्षमा चयन


काठमाडौं — नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषदले देशभरका युवा व्यवसायीलाई एउटै ढाँचामा समेट्दै ‘राष्ट्रिय युवा उद्यमी सञ्जाल’ गठन गरेको छ। यो सञ्जालको मुख्य उद्देश्य युवा उद्यमशीलताको प्रवर्द्धन, नीतिनिर्माण प्रक्रियामा युवाको सक्रिय सहभागिता सुनिश्चित गर्नु, तथा व्यवसायिक क्षेत्रमा संलग्न युवाबीच सहकार्यको वातावरण निर्माण गर्नु रहेको छ।

सञ्जालको अध्यक्षमा ई–कमर्स र डिजिटल मिडियामा सक्रिय व्यवसायी सुशील पराजुली सर्वसम्मत रूपमा चयन भएका छन्। पराजुलीले ‘Cinereels Production’ नामक भिडियो निर्माण कम्पनी स्थापना गरेका छन् र डिजिटल मार्केटिङ अभियानमार्फत युवाको आवाजलाई प्रवर्द्धन गर्दै आएका छन्। अध्यक्षमा चयन भएपछि पराजुलीले युवा उद्यमीका समस्यालाई संस्थागत आवाज दिने र देशमै अवसर सिर्जना गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। “व्यवसाय केवल पैसा कमाउने माध्यम होइन, यो राष्ट्र निर्माणको बलियो खम्बा हो,” उनले भने, “अब समय आएको छ, हामी युवाले नीति बनाउने तहमा पुगौं।”

सञ्जालमा तीन उपाध्यक्ष चयन गरिएको छ — ई–कमर्स व्यवसायमा सक्रिय राजकुमार अधिकारी, होटल तथा होस्टल व्यवसायमा क्रियाशील मनिष जङ्ग शाही, र शैक्षिक परामर्श, भाषा तालिम तथा ट्राभल क्षेत्रमा संलग्न सुदीप राज पुरी।

सचिव पदमा शैक्षिक परामर्श क्षेत्रमा कार्यरत आदर्श दाहाल चयन भएका छन्, जो युवाबीच नेतृत्वदक्षता र सक्रियताका लागि परिचित छन्। अनुज धिताल सह–सचिव, सर्मीला खनाल कोषाध्यक्ष र सुरेन्द्र अधिकारी सह–कोषाध्यक्षमा चयन भएका छन्।

कार्यसमितिको सदस्यमा शंकर खनाल, प्रदिप लामिछाने, राज तामाङ, सन्दीप केसी, इन्दिरा लोहनी, सुरेन्द्र गुरुङ, रबिन शाह, रेसम कट्वाल, र कल्पना बराल चयन भएका छन्।

सञ्जालको कार्यकाल दुई वर्षको रहनेछ। गठन समारोहमा राष्ट्रिय युवा परिषदका बोर्ड सदस्य विनोद कुमार शाही, प्रमुख प्रशासनिक अधिकृत गेहनाथ गौतम, उपसचिव चन्दा थापा, र शाखा अधिकृत रमेश भट्टराई लगायतको उपस्थिति रहेको थियो।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस