हिजोका सहयात्री अहिलेका प्रतिस्पर्धी ,हिजोका प्रतिस्पर्धी अहिलेका सहयात्री
प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको आसन्न निर्वाचनमा देशभर रोचक भिडन्तको तयारी भइरहेको छ । हिजोको सहयात्री अहिलेका प्रतिस्पर्धी, हिजोका प्रतिस्पर्धी अहिलेका सहयात्री भएका छन् । आसन्न निर्वाचनमा देशभरका कुल एक सय ६५ सिटमध्ये ५९ सिटमा त कम्युनिस्टविरुद्ध कम्युनिस्ट नै प्रतिस्पर्धा गर्दै छन् । नुवाकोटमा पनि कम्युनिस्टविरुद्ध कम्युनिस्ट नै प्रतिनिधिसभा क्षेत्र नम्बर १, प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेश सभा (क) र प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा भिड्दैछन् ।
‘संसारभरका मजदुर एक होऔँ’ भन्ने कम्युनिस्ट एउटै देशभित्र यसरी आपसमै पानी बाराबारको स्थितिमा भिडन्त गर्छन् भने यिनीहरूले कसरी संसारभरका मजदुरलाई एक बनाउलान्, संसारको मजदुरको कसरी हित गर्लान् ? के कम्युनिस्ट कहिल्यै एक हुन सक्दैनन् ? नेपालमा आदर्श र सिद्धान्तको वकालत गर्ने दर्जनभन्दा बढी कम्युनिस्ट नामधारी पार्टी रहेका छन् । नेपालका कम्युनिस्ट आफैँ त एक हुन सक्दैनन् भने अरूलाई एक बनाउलान् भनेर सोच्नु बेकार छ । टुटफुटमा रमाउने नेपालका कम्युनिस्ट पार्टी अहिलेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एक–आपसमा भिड्दै छन् । यो भिडन्तलाई विश्वका अधिकांश राष्ट्रले विशेष महत्वले हेरिरहेका छन् । कम्युनिस्ट जनमत बढ्दै गए पनि टुटफुटले गर्दा गैरकम्युनिस्टले राज्यको साधन, स्रोतमा ब्रह्मलुट मच्चाइरहेको छ ।
०७४ को प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच देशभरि नै चुनावी तालमेल भयो । जसको कारण नुवाकोट जिल्लाको दुई क्षेत्र रहेको प्रतिनिधिसभा सदस्य र चार क्षेत्र रहेको प्रदेश सभा सदस्य नै एमाले र माओवादी केन्द्रले जित्यो । प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर १ सहित दुईवटा प्रदेश माओवादी र दुई प्रतिनिधिसभा क्षेत्रमध्ये प्रतिनिधिसभा क्षेत्र नम्बर २ र दुईवटा प्रदेश सभा सदस्य एमालेले जित्यो । ०७४ सालको निर्वाचनमा एक-अर्काको चुनावी सहयात्री बनेर विजयको माला पहिरिएका हितबहादुर तामाङ र बद्री मैनाली अहिले भने प्रतिस्पर्धी बनेका छन् । गत ०७४ को निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट हितबहादुर तामाङ र प्रतिनिधिसभाको क्षेत्र नम्बर १ को प्रदेश सभा (क) बाट बद्री मैनाली उम्मेदवार बनेका थिए । दुवैले जितेका थिए । तालमेलसँग पार्टी एकताका लागि दुवैले दुवैलाई साथ र सहयोग गरे । सहयात्री बने । निर्वाचनपछि तामाङ र मैनाली एकै दलका सहकर्मीसमेत बने । माओवादी केन्द्र र एमालेबीच पार्टी एकता भएर बनेको नेकपामा तामाङ केन्द्रीय सदस्य र मैनाली बागमती प्रदेश कमिटी सदस्य भए । पार्टीलाई मजबुत बनाउन आपसी सरसल्लाह गर्दै योजना निर्माण र क्षेत्रको विकासका लागि अहोरात्र खटिरहे । काङ्ग्रेसले विगतको ०५१, ०५६, ०६४, ०७० सम्म जितेको उक्त क्षेत्रमा दुवै मिलेर कम्युनिस्टको किल्ला बनाउन सफल भएका थिए ।
०७४ सालको निर्वाचनमा एक-अर्काको चुनावी सहयात्री बनेर विजयको माला पहिरिएका तामाङ र मैनाली अहिले भने प्रतिस्पर्धी बनेका छन् । उनीहरू आगामी मङ्सिर ४ गते हुने नुवाकोट १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरिरहेका छन् । तामाङले उक्त क्षेत्रमा ०६४, ०७० को संविधानसभाको निर्वाचनमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतसँग पराजित भएका थिए । मैनालीको सहयोगमा दुईपटक पराजित महतलाई तेस्रोपटक हराउन सफल तामाङ यसपटक भने काङ्ग्रेसको सहयोग लिएर मैनालीसँग प्रतिस्पर्धा गरिरहेका छन् । काङ्ग्रेससहितको गठबन्धनको बलमा तामाङ मैनालीलाई जित्नका लागि योजनामुताबिक मैदानमा उत्रिएका छन् । गत ०७४ सालकै प्रदेश सभा सदस्य निर्वाचनमा विजयी भएका मैनाली अहिले एमाले जिल्ला कमिटीका अध्यक्ष रहेका छन् । ०५१ सालदेखि एकछत्र विजयी भएर पटक-पटक अर्थमन्त्री भएका डा. रामशरण महतलाई टक्कर दिएर गत ०७४ मा महतकै भतिज हाल नुवाकोट काङ्ग्रेसका सभापति रमेश महतलाई हराएर एकाएक चर्चामा आएका मैनाली युवाबीच लोकप्रिय र प्रौढले आशा, भरोसा गरेका नेता हुन् ।
प्रदेश सभा हुँदै प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका मैनालीले एमालेको पूरै शक्ति क्षेत्र नम्बर १ मा केन्द्रित गरिरहेका छन् । निवर्तमान सांसद तामाङलाई अघिल्लो निर्वाचनमा एमालेको साथ थियो । तामाङसँग प्रतिस्पर्धा गर्न एमालेले जिल्ला पार्टी अध्यक्ष मैनालीलाई मैदानमा उतारेपछि काङ्ग्रेसले यस क्षेत्रमा भन्दा प्रतिनिधिसभाको क्षेत्र नम्बर २ मा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीलाई जिताउन जिल्लाको सबै शक्ति लगाएको छ । पहिलोपटक सङ्घीय संसद्को निर्वाचन लडेका मैनालीलाई काङ्ग्रेसको एउटा पक्षले सहयोग र साथ दिइरहेको छ । प्रतिनिधिसभाको क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र नम्बर १ मा नेकपा एमालेले सुशील खड्कालाई उम्मेदवार बनाएको छ । खड्का गत स्थानीय निर्वाचनअघि नेपाली काङ्ग्रेसको प्रदेश इकाइ सभापति त्यागेर एमालेमा प्रवेश गरेका हुन् । खड्कासँग गठबन्धनले यसै प्रदेशबाट गत ०७४ को प्रदेश सभा सदस्य जितेकी निवर्तमान बागमती प्रदेश सभाकी उपसभामुख माओवादी केन्द्रकी नेता राधिका तामाङलाई चुनावी मैदानमा उतारेको छ । खड्का र तामाङ काङ्ग्रेसको मत लिएर विजयी बन्ने योजनामा रहेका छन् । त्यसैगरी, उक्त क्षेत्रको प्रदेश नम्बर २ मा गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेस जिल्ला सभापति रमेशकुमार महत र एमालेका बागमती प्रदेश कमिटीका सदस्य पूर्णलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ । महत गत निर्वाचनमा यसै प्रदेशबाट पराजित भएकाले यसपटक सम्पूर्ण शक्ति लगाएर जित्ने तयारीमा छन् । श्रेष्ठ पहिलोपटक प्रदेश संसद्को निर्वाचनमा उम्मेदवार बनेकाले जसरी पनि जित्न लागिपरेका छन् । श्रेष्ठ राप्रपा र काङ्ग्रेसको महतविरोधी समूहको साथ र सहयोग लिएर महतलाई पछार्ने योजनामा रहेका छन् ।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट काङ्ग्रेसको केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र एमालेका प्रदेश कमिटीका सदस्य तथा निवर्तमान सांसद नारायणप्रसाद खतिवडाबीच प्रतिस्पर्धा रहेको छ । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमन पाण्डेको पक्षमा दिन प्रतिदिन जनमत बढिरहेकाले केसी र खतिवडा दुवैको मत घट्दो क्रममा रहेको राजनीतिक विश्लेषकले बताइरहेका छन् । सफल पर्यटन व्यवसायी समेत रहेका पाण्डेको चर्चा यो क्षेत्रमा युवा मतदाताबीच बढिरहेको काङ्ग्रेस र एमालेका नेताले नै बताउने गरेका छन् । पाण्डेको उम्मेदवारीले गत ०७४ को निर्वाचनमा पराजितको बदला लिन गठबन्धन मिलाएका केसीका लागि त्यति सहज देखिँदैन । गठबन्धन र काङ्ग्रेसको सबैलाई मिलाउन केसीको प्रयास भने जारी रहेको छ । ०३८ सालदेखि निरन्तर निर्वाचनमा उम्मेदवार बन्दै आएका कारण मतदाता उनीप्रति सकारात्मक देखिँदैनन् । एमालेका खतिवडा भने काङ्ग्रेस र माओवादीबीच आन्तरिक कलह बढाएर चुनाव जित्ने तयारीमा देखिन्छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका पाण्डेले एमाले र काङ्ग्रेसको मत खोस्ने भएकाले जुन पार्टीको बढी मत पाण्डेले लिन्छन् त्यही पार्टी यो क्षेत्रबाट पराजित हुने अवस्था रहेको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश सभा (क) मा एमालेका बागमती प्रदेश कमिटीका अध्यक्ष एवम् निवर्तमान सांसद केशव पाण्डे र नेकपा माओवादी केन्द्रका प्रदेश कमिटीका सदस्य एवम् एकीकृत नेकपाकालीन सहकर्मी रामप्रसाद ढुङ्गानाबीच प्रतिस्पर्धा हुँदै छ । ढुङ्गाना पहिलोपटक प्रदेश सभा सदस्य हुने दाउमा छन् भने पाण्डे प्रदेश सभा सदस्यमा दोहो¥याएर प्रदेशको मुख्यमन्त्री हुने दौडमा रहेका छन् । यस क्षेत्रमा गठबन्धनरत दल नेपाली काङ्ग्रेस र नेकपा एकीकृत समाजवादीको उम्मेदवारी कायम छ । गठबन्धनको केन्द्रीय निर्णयअनुसार यो क्षेत्र समाजवादीको भागमा परेको थियो । माओवादी र काङ्ग्रेसले समाजवादीको अस्तित्व स्वीकार गर्न राजी नहुँदा गठबन्धनले एक्लो उम्मेदवार कायम गराउन सकेन । काङ्ग्रेस र समाजवादीको निर्वाचनको मतपत्रमा चुनाव चिह्नसमेत रहने भएकाले निर्वाचनको परिणाम माओवादी केन्द्रले सोचेजस्तो नआउने अवस्था रहेको छ । गठबन्धनले समाजवादीका उम्मेदवार राजेन्द्रप्रकाश लोहनी र काङ्ग्रेसको उम्मेदवार गीता अमात्यलाई उम्मेदवार फिर्ता गराउन नसके पनि समर्थनको नाममा विज्ञप्ति निकाल्न भने सफल भएको छ ।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) सदस्यमा एमालेका विजयसिंह लामा र गठबन्धनको तर्फबाट नेपाली काङ्ग्रेसका बहादुरसिंह लामा चुनावी मैदानमा रहेका छन् । गठबन्धनको केन्द्रीय सहमतिअनुसार यो क्षेत्र माओवादी केन्द्रको भागमा परे पनि काङ्ग्रेस र माओवादी दुवैले उम्मेदवार दर्ता गराएका थिए । माओवादीको तर्फबाट उम्मेदवार बनेकी राममाया बोगटीले केन्द्रको दबाबमा उम्मेदवारी फिर्ता लिएकी थिइन् । तामाङ जातिको बाहुल्य रहेको यो प्रदेशमा संविधानसभाको ०६४ र ०७० मा उम्मेदवार बनेर ०६४ मा पराजित, ०७० मा विजयी र ०७४ मा समानुपातिक सांसद भएर प्रतिनिधिसभा प्रवेश गरेका बहादुरसिंहका लागि यसपटक विजयको उम्मेदवारी फलामको चिउरा भएको छ । विजय पढेलेखेका तामाङ कला, संस्कृति जगेर्ना र उत्थानमा सक्रिय रहेकाले यसपटक बहादुरको प्रदेश सभामा जान त्यति सहज छैन । यो क्षेत्र बहादुरले पटक–पटक जित्दै, हार्दै जनतालाई बाँडेको आश्वासन पूरा गर्न नसकेकाले एमालेका उम्मेदवार विजयप्रति आममतदाताको चासो र खोजी भइरहेको छ ।
नुवाकोटका अन्य दल र स्वतन्त्र उम्मेदवार पनि चुनावी मैदानमा रहेका छन् । उनीहरूको चर्चा मतदातामा खासै देखिँदैन । एमाले र गठबन्धन दलबीच प्रतिस्पर्धा भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभा (ख) मा चहल-हल र मतदाताले चासो दिएकाले प्रतिस्पर्धामा आउने अवस्था देखिन्छ । तिहार सकिएसँगै उम्मेदवार मतदाता भेटघाटमा अगुवा कार्यकर्ता लिएर टोलटोलमा कार्यक्रम बनाएर क्रियाशील भइरहेका छन् । स्वतन्त्रदेखि साना दलका उम्मेदवार घरदैलो गर्दै मतदाता रिझाउन सक्रिय भइरहेका छन् । उम्मेदवार जिल्लाको बजार क्षेत्रभन्दा यस हप्ता गाउँमा केन्द्रित भइरहेका छन् । उम्मेदवार गाउँटोलमा जाँदा मतदाता भने खेतबारीमा अन्न भित्र्याउन व्यस्त रहेपछि उम्मेदवार खेतबारीमै पुगेर मतदातासँग मत मागिरहेका छन् ।
त्रिशुली प्रवाह बाट शाभार
क्याटेगोरी : समाचार
ट्याग : #hot 100, #Hot100
प्रतिक्रिया दिनुहोस