मंगलबार लाग्ने सूर्यग्रहण नेपालको सबै भूभागबाट देख्न सकिने
आउने मंगलबार लाग्ने खण्डग्रास सूर्यग्रहण नेपालको सबै भू–भागबाट पश्चिम–दक्षिण–पश्चिम भागमा देख्न सकिने विज्ञको भनाइ छ । बीपी कोइराला मेमोरियल प्लानेटरीयम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका अनुसार नेपालबाट सूर्यास्तको समयमा क्षितिजबाट लगभग ७ देखि १३ डिग्रीको उचाइ कोणमा सूर्य अवस्थित हुँदा सूर्य ग्रहण पूर्ण अवधिसम्म अवलोकन गर्न भने सकिने छैन ।
काठमाडौंबाट अवलोकन हुने सूर्यको ३७.७ प्रतिशत भाग मात्र ग्रहण लागेको देख्न सकिने अब्जरभेटरीका निमित्त कार्यकारी निर्देशक एवम् खगोलविद् डा. सनतकुमार शर्माले बताउनुभयो ।
यो खण्डग्रास सूर्यग्रहण हेर्दा केही राशीलाई राम्रो हुने, केही राशिलाई नराम्रो हुनेजस्ता कुराहरु बाहिर आए पनि वैज्ञानिक रुपमा यो सत्य छैन ।
नेपालमा कात्तिक ८ गते मंगलबार साँझ ४ः५३ बाट खण्डग्रास सूर्यग्रहण लाग्नेछ । ग्रहणको समाप्ति साँझ ५ः२६ मा हुने बताइएकोछ । नेपालमा करिब ३३ मिनेट मात्र ग्रहण देखिने शर्माले बताउनुभयो ।
खुल्ला आँखाले हेर्न हुँदैन
सूर्य ग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोपको प्रयोग गरेर अवलोकन गर्न नहुने डा. शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘खुल्ला आँखाले सूर्यग्रहणको अवलोकन गरेमा आँखा सदाका लागि बिग्रिने सम्भावना रहन्छ । साथै ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिबिम्बलाई अवलोकन गर्नुहुँदैन ।’
हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङ्गको धातु लेपन भएको चस्माबाट मात्र यसको अवलोकन गर्न सकिने उहाँले बताउनुभयो । साधारण चस्माबाट यसको अवलोकन गर्न नहुने शर्माले बताउनुभयो ।
खण्डग्रास सूर्यग्रहण लागेका बेला केही राशिका मान्छेले हेर्न हुने केहीले नहुने भन्ने आधारहरू वैज्ञानिक रूपमा सत्य नरहेको उहाँको भनाइ छ । डा. शर्माले भन्नुभयो, ‘यो खण्डग्रास सूर्यग्रहण हेर्दा केही राशीलाई राम्रो हुने, केही राशीलाई नराम्रो हुनेजस्ता कुराहरू बाहिर आए पनि वैज्ञानिक रूपमा यो सत्य छैन ।’
सूर्य ग्रहणको समयमा मानवमा पर्ने प्रभावका सम्बन्धमा हालसम्म कुनै पनि वैज्ञानिक आधारहरू प्राप्त हुन नसकेको उहाँले बताउनुभयो ।
के हो सूर्यग्रहण
सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्दा यसको छाँया पृथ्वीमा पर्न गई सूर्यग्रहण हुन जान्छ । सूर्यग्रहण केवल चन्द्रमाको न्यून मून फेजमा मात्र लाग्न सम्भव हुने विज्ञ शर्माले बताउनुभयो । खण्डग्रास, खग्रास तथा वलयाकार सूर्य ग्रहण विभिन्न खगोलीय अवस्थामा निर्भर गर्छ ।
सूर्य पृथ्वीबाट लगभग १५ करोड कि.मी. टाढा छ । यसको ब्यास पृथ्वीभन्दा १०९ गुणा ठूलो छ । चन्द्रमाको ब्यास पृथ्वीको एक चौथाइ मात्र छ । तौल तीन लाख ३३ हजार गुणा बढी छ । यसको बाहिरी सतहको तापक्रम लगभग ६ हजार डिग्री सेन्टिग्रेड र केन्द्रको तापक्रम एक करोड ५० लाख डिग्री सेन्टिग्रेड रहेको छ ।
सूर्य पृथ्वीको सबभन्दा निकट रहेको एउटा सामान्य प्रकारको तारा हो । सौर्यमण्डलका सम्पूर्ण ग्रहहरू आफ्नो कक्षमा परिभ्रमण गर्नका साथै सूर्यको वरिपरि पनि परिभ्रमण गरिरहेका हुन्छन् । पृथ्वी आफ्नो कक्षमा पश्चिमबाट पूर्वतिर परिभ्रमण गर्नुका साथै सूर्यको वरिपरि पनि परिभ्रमण गरिरहेको हुन्छ ।
सामान्यतः व्याख्या गर्दा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएर पृथ्वीमा पर्ने सूर्यको प्रकाशलाई पूर्ण वा आंशिक रूपमा छेकेमा अर्थात् चन्द्रमाको छाँया पृथ्वीमा पर्न गएमा छाँया परेको स्थानमा सूर्यग्रहण लाग्न जान्छ ।
सामान्यतः व्याख्या गर्दा सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएर पृथ्वीमा पर्ने सूर्यको प्रकाशलाई पूर्ण वा आंशिक रूपमा छेकेमा अर्थात् चन्द्रमाको छाँया पृथ्वीमा पर्न गएमा छाँया परेको स्थानमा सूर्यग्रहण लाग्न जान्छ । सूर्यग्रहण खग्रास, खण्डग्रास वा बलयाकारको हुनसक्छ । पृथ्वीको एक स्थानमा खग्रास सूर्यग्रहण लागेपछि साधारणतया उक्त स्थानमा पुनः ३७५ वर्ष पछि मात्र लाग्छ ।
चन्द्रमाको त्रिज्या पृथ्वीभन्दा धेरै सानो भएकाले चन्द्र र सूर्य गोलामा बाहिर स्पर्श रेखाद्वारा निर्मित शङ्कु छायाँ (कोन सेडो) भित्र पृथ्वी पूर्णरूपले नपर्ने हुँदा पृथ्वीको केही निश्चित भागबाट मात्र सूर्यग्रहण अवलोकन गर्न सकिन्छ । चन्द्रमाले सूर्यबाट आएको प्रकाशलाई छेक्नाले पृथ्वीमा सघन छायाँ पर्न गई पृथ्वीको सो भागमा अवस्थित व्यक्तिहरूले खग्रास सूर्यग्रहण अवलोकन गर्न सक्छ । चन्द्रमाले सूर्यको केही भागलाई मात्र छेक्ने स्थानमा अवस्थित व्यक्तिहरूले केवल खण्डग्रास सूर्यग्रहण मात्र अवलोकन गर्ने अवसर प्राप्त गर्छ ।
Source:- Gorkhapatraonline
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस