Techie IT
गृहपृष्ठसमाचारकांग्रेस प्रदेश समिति चयनका लागि आज मतदान

कांग्रेस प्रदेश समिति चयनका लागि आज मतदान


नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत शनिबार प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैछ । देश सङ्घीयतामा गएपछि संविधानमा व्यवस्था भएको सङ्घीय संरचनाअनुसार काँग्रेसले पहिलो पटक प्रादेशिक अधिवेशन गरेको हो ।

प्रदेश अधिवेशनले सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीनजना सहमहामन्त्रीको निर्वाचन गर्नेछ । मतदाता र प्रदेश कार्यसमिति प्रदेशअनुसार फरक हुनेछ । प्रदेश अधिवेशनमा १६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभा निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आएका महाधिवेशन र प्रदेश अधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।

कतिपय प्रदेशमा सभापति पदमा दुईभन्दा बढीको उम्मेदवारी परेको छ । सभापति पदमा खसेको मतको ५१ प्रतिशत मत कुनै उम्मेदवारले प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः मतदान गराइने छ । केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश २ मा उम्मेदवारी दर्ता शनिबार मात्रै हुने भएको छ । अरू ६ वटा प्रदेशमा शनिबार नेतृत्व चयनका लागि मतदान हुनेछ ।

बागमती प्रदेश  काँग्रेस प्रदेश सभापतिमा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, जगदीश्वरनरसिंह केसी र इन्द्र बानियाँले उम्मेदवारी दिनुभएको छ । निर्वाचन समितिका अनुसार प्रदेश उपसभापतिमा चन्द्र महर्जन, धर्मराज गौतम, परशुराम पोखरेल, मदनकृष्ण श्रेष्ठ, मोहनबहादुर बस्नेत र राजेन्द्रप्रसाद बुर्लाकोटीको उम्मेदवारी परेको छ । महामन्त्रीमा कञ्चनचन्द्र वादे, रामचन्द्र अर्याल, राजु श्रेष्ठ, तिलकप्रसाद रुवाली, गौरीप्रसाद दवाडी र सुरेश श्रेष्ठले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

सहमहामन्त्रीमा महिलातर्फ जीवन डङ्गोल, निर्मला बस्ताकोटी र मोतीमाया तामाङको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । यसैगरी सहमहामन्त्रीमा खुलातर्फ ऋषिराम घिमिरे, वीरबहादुर तामाङ, हरिशरण श्रेष्ठ, राजकुमार पाठक, महेन्द्र थिङ र जयनारायण सापकोटाले उम्मेदवारी दिनुभएको छ । सहायक निर्वाचन अधिकृत रामकुमार अधिकारीले ९१ सदस्यीय प्रदेश कार्यसमितिका लागि सबै पदमा गरी २५० जना उम्मेदवारी परेको बताउनुभयो । शनिबार बिहान ९ बजेबाट दिउँसो ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । यस प्रदेशमा दुई हजार १३७ मतदाता छन् ।

Gorkhapatra


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया दिनुहोस