विदुर नगरपालिकाले त्रिशुली अस्पताल नुवाकोटलाई दुई थान भेन्टिलेटर प्रदान गरेको छ ।
कोरोना भाइरसको दोश्रो लहरबाट संक्रमित हुने दर बढ्दै गएको कारण उपचारमा आवस्यक श्रोत साधनको अभावकै कारण जटिल समस्या निम्तन सक्ने जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले २ थान भेन्टिलेटर अस्पताललाई उपलव्ध गराएको हो । अमेरिकामा उत्पादित गुणस्तरीय २ थान भेन्टिलेटर नगरपालिकाले भ्याट सहित ५५ लाख ९३ हजार ५ सय रुपैयाँमा खरिद गरिएको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले जानकारी दिनुभएको छ ।
केही दिन अघि त्रिशुली अस्पतालको अगुगमनको क्रममा नगरपालिकाको टिम पुग्दा भेन्टिलेटरको अभाव रहेको अस्पताल श्रोतले जानकारी गराएको थियो । उक्त समयमा नगरपालिकाले जनाएको प्रतिवद्धता अनुसार एक कार्यक्रमको बिच शनिवार २ थान भेन्टिलेटर अस्पताललाई उपलव्ध गराएको हो ।
नुवाकोट, रसुवा र धादिङको केन्द्रविन्दुमा रहेको त्रिशुली अस्पताललाई प्राप्त भेन्टिलेटरबाट गुणस्तरीय सेवा प्रवाह गरी मृत्युको मुखमा पुग्न लागेका नागरिकहरुलाई नयाँ जीवन प्रदान गर्न सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताउनुभएको छ । साथै उहाँले महत्वपूर्ण सामाग्री सहि रुपमा सदुपयोग र संरक्षणको आवस्यक रहेको उहाँको भनाई छ ।
अस्पतालमा कार्यरत स्वाथ्यकर्मीहरुमा कोरोना भाइरस सङ्क्रमण भएता पनि उच्च मनोवलको साथ विरामीको सेवामा तल्लिन रहेका छन् । तत्कालको लागि स्वास्थ्यकर्मीहरुलाई उत्साह थप्ने गतिविधि सञ्चालन गर्न असमर्थ भएता पनि भविष्यमा स्वास्थ्यकर्मीले महामारीको समयमा गरेको परिश्रमलाई उच्चमुल्याङ्कन गरिने अस्पताल विकास समितका अध्यक्ष अर्जुन न्यौपानेले बताउनुभएको छ ।
म्याक्जिम इन कर्पोरेशन ट्रेडर्सबाट खरिद गरिएको दुई थान भेन्टिलेटरको ५५ लाख ९३ हजार ५ सय रुपैयाँको चेक नगरपालिकाले त्रिशुली अस्पताल विकास समितिलाई शनिवार नै प्रदान गरिसकेको छ । दुई भेन्टिलेटर थप भएसँगै जिल्ला अस्पतालमा भेन्टिलेटरको संख्या ६ वटा पुगेको छ । नगरपालिकाको सहयोगमा भेन्टिलेटर प्राप्त भएपछि विरामीको उपचारमा थप सहजता हुने त्रिशूली अस्पतालमा मेडिकल सुपरीटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया दिनुहोस