बचतकर्ता लाई भारी बन्दै सहकारीहरु
धेरै व्याजदरको लोभमा परेर सहकारीमा करोडौ बचत गर्ने बचतकर्ताहरू क्रमश सहकारीबाट बचत झिक्न थालेपछि सहकारी संस्था भने समस्यामा पर्न थालेका छन् ।
सहकारीका मालिकहरू अर्बाैं रकम हिनामिना गरेर फरार भएका समाचार आउन थालेपछि सहकारी क्षेत्रका बचतकर्ताले जम्मा भएका रकम झिक्न थालेका छन् । रकम झिक्न थालेपछि सहकारी क्षेत्र नै धरासायी हुने हो कि भन्ने आशंका बढ्न थालेको छ ।
सहकारीहरू पैसा लिएर भाग्न थालेको समाचार आउन थालेपछि सेयर सदस्य तथा बचतकर्ताहरू बचत झिकेर बैंकमा सार्न थालेका छन् । काठमाडौँ उपत्यकासहित देशभरका सहकारीमा अहिले बचत गर्ने भन्दा पनि झिक्नेहरूको लाइन लाग्न थालेको छ। बचतकर्ताहरू एकै पटक आफ्नो रकम झिक्न आउन थालेपछि सहकारीले सीमा तोकेर मात्र पैसा दिन थालेका छन् । अधिकांश सहकारीले एक पटकमा १० हजार मात्र दिने प्रावधान लागू गरेका छन् । तर यसले रकम झिक्न चाहाने बचतकर्तालाई छेकेको छैन । भर्खरै खुलेका मात्र होइनन् वर्षौ पुराना सहकारी समेत आफ्नो बचत झिक्न सहकारीसम्म पुगेका छन् ।
धेरै व्याजदरको लोभमा परेर सहकारीमा करोडौ बचत गर्ने बचतकर्ताहरू क्रमश सहकारीबाट बचत झिक्न थालेपछि सहकारी संस्था भने समस्यामा पर्न थालेका छन् ।
सहकारी टाट पल्टिन थालेपछि विभागको निर्देशन
सहकारी संस्थाका सञ्चालक रकम उठाएर क्रमशः फरार हुन थालेपछि सहकारी विभागले घरजग्गामा जथाभावी लगानी नगर्न निर्देशन दिएको छ। विभागले कर्जा लगानी गर्दा तत्काल प्रतिफल प्राप्त हुने स–साना व्यवसायमा लगानी गर्ने र स्थिर सम्पत्तिहरूमा (मुख्यगरी घरजग्गा) कर्जा लगानी नगर्न निर्देशन जारी गरेको हो। सहकारी संस्थाहरूलाई आवधिक र ठूलो बचत संकलनमा भन्दा नियमित बचतमा जोड दिन विभागले निर्देशन दिएको छ।
विभागले बचतकर्ता सदस्यहरूसँग नियमित भेटघाट गरी बचत फिर्ता भुक्तानी कहिले चाहिने हो ? भुक्तानीको अग्रिम तालिका बनाएर नियमित भुक्तानी गर्न समेत गराएको सहकारीहरूमा सूचना जारी गरेको छ। बचतकर्ताहरूलाई संस्थाको वस्तुगत स्थिति जानकारी गराउन समेत विभागले निर्देशन दिइसकेको छ।
सञ्चालन र घाटामा रहेका संस्थाहरूले नाफामा सञ्चालन नहुन्जेलसम्म सेयर लाभांश र कर्मचारी बोनस कोषको रकम वितरण नगर्नेदेखि सञ्चालकको सुविधा कटौती गर्न निर्देशन जारी गरेको छ। प्रशासनिक खर्च घटाउने, बिना योजना खोलिएका वा घाटामा चलेका शाखा वा सेवा केन्द्रहरू पनि बन्द गर्न विभागले निर्देशन दिएको छ।
छिटो छिटो बढी नाफा कमाउने लोभमा परेर सहकारी संस्थाहरूले घरजग्गा र सेयरमा जथाभावी लगानी गर्दा संस्था नै टाट पल्टिदै गएका छन्। बचतकर्ता र सेयर सदस्यहरूको पैसा लिएर सञ्चालकहरू नै फरार हुने क्रम बढेपछि विभागले आफ्नो ध्यानकर्षण भएको भन्दै निर्देशन जारी गरेको छ।
सहकारी क्षेत्रप्रति नै अविश्वास बढ्दै गएको आन्तरिक मूल्यांकन गर्दै विभागले सहकारी संस्था, सहकारीका सेयर सदस्य र केन्द्रिय संघ र सहकारी बैंकहरूलाई एकीकृत निर्देशन जारी गरेको छ। विभागले सेयर सदस्य प्राप्त भएपछि बचत राख्ने र तीन महिनापछि मात्रै ऋण लिन दिन समेत निर्देशन दिएको छ।
कसरी सुधार गर्ने
राजनीतिक अस्थिरतासँगै सहकारी क्षेत्रमात्र होइन सबै क्षेत्रमा असर गरेको राष्ट्रिय सहकारी महासंघ नेपालका पूर्व अध्यक्ष तथा पूर्व गृहराज्यमन्त्री दिपक प्रकाश बास्कोटा बताउँछन् । सहकारीको क्षेत्रमा देखिएको समस्या अहिलेको मात्रै नरहेको बास्कोटा बताउँछन् । उनी भन्छन् ‘यसमा मैले देखेको कुरा सहकारीमा अनुगमन भएको छैन् । हाल दर्ता गर्ने दर्ता गरिदिएपछि सकियो काम भनेर बस्ने परिपाटी रहेको छ।‘
हाल सहकारीमा देखिएको समस्या समाधानको लागि सहकारी बोर्ड, तथा सहकारी संघसँग समन्वय गरी तत्कालको समस्या समाधान गर्नुपर्ने बास्कोटा बताउँछन् । साथै दीर्घकालिन समाधानको लागि पनि यसमा व्यापक अनुगमन तथा तालिम दिनुपर्ने उनको तर्क छ।
यो खबर ई कागज बाट शाभार गरिएको हो ।
क्याटेगोरी : अर्थतन्त्र, देश, समाचार, समाज
ट्याग : #hot 100, #Hot100
प्रतिक्रिया दिनुहोस