Techie IT
गृहपृष्ठसमाचाररौतहटमा भन्सार छलीका सामानसहित तीन मोटरसाइकल नियन्त्रणमा

रौतहटमा भन्सार छलीका सामानसहित तीन मोटरसाइकल नियन्त्रणमा


अशोक यादव रौतहट, असार २५। रौतहट प्रहरीले भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएका सामान तथा तीन वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मोतिपुर–नरकटिया क्षेत्रमा नियमित चेकजाँचका क्रममा BR30Q6135 नम्बरको मोटरसाइकलमा लोड गरिएको करिब ४९ हजार रुपैयाँ बराबरको उषा पोली वायर (तार) बरामद गरिएको हो। उक्त सामानसहित करिब ६० हजार रुपैयाँ मूल्यको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
त्यसैगरी, लक्ष्मीनिया–विजयपुर क्षेत्रमा ना ५५ प ७३३१ र ना ३१ प ४०७३ नम्बरका मोटरसाइकलमा ल्याइँदै गरेको ११ बोरा युरिया मल प्रहरीले बरामद गरेको छ। प्रहरी टोलीलाई देख्नासाथ मोटरसाइकल चालकहरू सामान र सवारीसाधन बाटोमै छाडेर फरार भएका थिए।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका भन्सार छलीका सामान तथा तीनवटै मोटरसाइकलको कुल अनुमानित मूल्य १ लाख १८ हजार ९ सय रुपैयाँ रहेको छ। बरामद गरिएका सामान तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस