रास्वपा केन्द्रीय सदस्य लड्दै पर्यटन व्यवसायी सुमन पाण्डे
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्यटन विभाग प्रमुख सुमन विक्रम पाण्डेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुने रास्वपाको केन्द्रीय महाधिवेशनमा उहाँले केन्द्रीय सदस्यका लागि निर्वाचन लड्ने तयारी गर्नुभएको हो ।

- नुवाकोटका स्थायी बासिन्दा पाण्डे करिब ३६ वर्षदेखि नेपालको पर्यटन क्षेत्रमा सक्रिय हुनुहुन्छ । उहाँले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्ष, एयरलाइन्स एसोसिएसन अफ नेपाल (आवान) को महासचिव र नेपाल पर्यटन बोर्डको सदस्यका रूपमा काम गरिसक्नुभएको छ । साथै, प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) अन्तर्राष्ट्रिय मुख्यालयमा कोषाध्यक्ष, सचिव र उपाध्यक्ष जस्ता उच्च पद सम्हाल्नुभएका पाण्डेलाई पाटाले ‘आजीवन सदस्यता’ बाट समेत सम्मानित गरेको छ ।
पर्यटनसँगै सामाजिक र वातावरणीय क्षेत्रमा सक्रिय पाण्डेले ‘हरियो नुवाकोट’ अभियानमार्फत स्थानीय कृषकहरूलाई डेढ लाख फलफूलका बिरुवा वितरण गर्नुभएको थियो । उहाँ गत २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट क्षेत्र नम्बर २ बाट रास्वपाको उम्मेदवार बन्दै १६ हजार ४ सय ७७ मतका साथ दोस्रो स्थानमा रहनुभएको थियो ।
पार्टीभित्र आफ्नो व्यावसायिक दक्षता, नीतिगत ज्ञान र सांगठनिक अनुभवलाई संस्थागत गर्न आफूले उम्मेदवारी दिन लागेको पाण्डेले बताउनुभयो । लामो व्यावसायिक र अन्तर्राष्ट्रिय अनुभव बोक्नुभएका पाण्डेको उम्मेदवारीलाई रास्वपा महाधिवेशनमा विशेष चासोका साथ हेरिएको छ ।
क्याटेगोरी : समाचार






















प्रतिक्रिया दिनुहोस