Techie IT
गृहपृष्ठसमाचार‘हामी जवाफदेही छौँ’ : सार्वजनिक सुनुवाइमार्फत नागरिकसँग लिखु गाउँपालिका

‘हामी जवाफदेही छौँ’ : सार्वजनिक सुनुवाइमार्फत नागरिकसँग लिखु गाउँपालिका


नुवाकोट, असार १ — लिखु गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सम्पन्न गरेका विकास निर्माणका काम, सेवा प्रवाह तथा आगामी योजनाबारे नागरिकलाई जानकारी गराउने उद्देश्यले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ।


लिखु गाउँपालिका–४ चौघडास्थित निर्माणाधीन प्रशासनिक भवन परिसरमा आयोजित कार्यक्रममा गाउँपालिकावासीले उठाएका जिज्ञासा, गुनासा, राय तथा सुझावको गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ, उपाध्यक्ष सुभद्रा अधिकारी (उप्रेती), प्रमुख प्रशासकीय अधिकृत अशोक विष्ट, विषयगत शाखा प्रमुख, वडाध्यक्ष तथा वडासचिवहरूले जवाफ दिएका थिए।गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठको प्रमुख आतिथ्यता तथा वडा नं. ४ का अध्यक्ष प्रकाश राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिकाको कार्यालय र सबै ६ वटा वडा कार्यालयको चालु आर्थिक वर्षसम्मको प्रगति विवरण, योजना तथा कार्यक्रमको कार्यान्वयन अवस्था, राजस्व संकलन र सेवा प्रवाहसम्बन्धी विवरण प्रस्तुत गरिएको थियो।
खुला छलफलका क्रममा सहभागीहरूले कृषि, शिक्षा, स्वास्थ्य, सडक तथा पूर्वाधार विकास, तादी र लिखु खोलामा करिडोर निर्माण, मठमन्दिर संरक्षण तथा पुनर्निर्माण, गाउँपालिका भवन निर्माण कार्यलाई तीव्रता दिनुपर्ने लगायतका विषयमा सुझाव तथा जिज्ञासा राखेका थिए। उठाइएका विषयमा अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष अधिकारी र प्रमुख प्रशासकीय अधिकृत विष्टले स्पष्टिकरण दिएका थिए।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले आफ्नो दोस्रो कार्यकालसम्ममा गाउँपालिकाले हासिल गरेका उपलब्धि, निर्माण भएका संरचना तथा सेवा प्रवाहका क्षेत्रमा भएको सुधार उल्लेख गर्दै बाँकी रहेका आवश्यक योजना आगामी आर्थिक वर्षमा कार्यान्वयन गरिने जानकारी दिनुभयो। उहाँले आफ्नो पहलमा संघीय सरकारबाट केही ठूला बजेटका योजना सुनिश्चित भएको र थप योजनाहरू प्राप्त गर्ने प्रक्रिया जारी रहेको बताउनुभयो।
लिखु गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनका आधारमा उत्कृष्ट स्थानीय तहका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले सुशासन, वित्तीय जोखिम न्यूनीकरण, बेरुजु नियन्त्रण तथा सेवा प्रवाहमा प्राप्त उपलब्धि जनप्रतिनिधि र कर्मचारीहरूको संयुक्त मेहनतको परिणाम भएको बताउनुभयो। संघ र प्रदेशबाट अपेक्षित प्राथमिकता नपाए पनि स्थानीय आवश्यकताका योजना गाउँपालिकाले आफ्नै स्रोतबाट पूरा गर्न सक्ने क्षमता विकास गरिसकेको उहाँको भनाइ थियो।
उपाध्यक्ष सुभद्रा अधिकारी (उप्रेती) ले विकास योजनाको गुणस्तर, पारदर्शिता र दिगोपन सुनिश्चित गर्न नियमित अनुगमन भइरहेको जानकारी दिनुभयो। लक्ष्यअनुसार राजस्व संकलन भइरहेको र सोही स्रोतबाट नागरिकका आवश्यकतालाई सम्बोधन गर्दै लिखु गाउँपालिकालाई नमुना पालिकाका रूपमा विकास गरिएको उहाँले बताउनुभयो।
उहाँले न्यायिक समितिको कामकारबाही, महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, विपन्न तथा लक्षित वर्गका लागि सञ्चालन गरिएका कार्यक्रममार्फत उनीहरूको जीवनस्तर सुधारमा योगदान पुगेको उल्लेख गर्नुभयो। साथै युवालाई सीप, रोजगार र स्वरोजगारसँग जोड्दै वैदेशिक रोजगारको बाध्यता कम गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो।
प्रमुख प्रशासकीय अधिकृत अशोक विष्टले सीमित स्रोत–साधनका बाबजुद नागरिकका जायज माग सम्बोधन गर्दै आएको बताउनुभयो। उहाँले गाउँपालिकाका सकारात्मक कार्यको प्रशंसा गर्दै कमजोरी सुधारका लागि रचनात्मक सुझाव दिन, समयमै राजस्व तिर्न, विकास निर्माणमा श्रमदान गर्न, गुणस्तरमा निगरानी राख्न तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न नागरिकलाई आग्रह गर्नुभयो।
कार्यक्रमको सुरुवातमा प्रशासन, योजना तथा अनुगमन शाखा प्रमुख रामचन्द्र लामिछानेले सार्वजनिक सुनुवाइको उद्देश्य र महत्वबारे प्रकाश पार्दै स्थानीय तहको पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायित्व अभिवृद्धिका लागि यस्ता कार्यक्रम प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले नागरिक र स्थानीय सरकारबीच विश्वासको सम्बन्ध सुदृढ बनाउन सार्वजनिक सुनुवाइ महत्वपूर्ण अभ्यास भएको उल्लेख गर्नुभयो।
कार्यक्रममा गाउँपालिका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष नरहरी पाण्डे, वडा नं. २ का अध्यक्ष प्रेमबहादुर थापा मगर, वडा नं. ३ का अध्यक्ष सिताराम पुलामी मगर, वडा नं. ४ का अध्यक्ष प्रकाश राई, वडा नं. ५ का अध्यक्ष विश्वप्रकाश खतिवडा, वडा नं. ६ का अध्यक्ष सुमन भण्डारी, कार्यपालिका सदस्य, शाखा प्रमुख, कर्मचारी, राजनीतिक दलका प्रतिनिधि, सहकारीकर्मी, व्यवसायी, विद्यालय व्यवस्थापन समिति पदाधिकारी, प्रधानाध्यापक, शिक्षक तथा विभिन्न संघसंस्थाका प्रतिनिधिसहित करिब २०० जनाको सहभागिता रहेको थियो।

तस्वीरहरु


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस