Techie IT
गृहपृष्ठसमाचारगङ्गादशहरामा गोसाइँकुण्डमा विशेष मेला सुरु, हजारौँ भक्तजन पुग्ने अपेक्षा

गङ्गादशहरामा गोसाइँकुण्डमा विशेष मेला सुरु, हजारौँ भक्तजन पुग्ने अपेक्षा


रसुवा — हिमालको काखमा अवस्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड मा गङ्गादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको आस्था, श्रद्धा र मोक्ष प्राप्तिको केन्द्र मानिने यस तीर्थमा भगवान् शिवको दर्शन तथा स्नान गर्न देश–विदेशबाट भक्तजनहरू पुग्न थालेका छन् ।
जेठ ३ गतेदेखि सुरु भएको मेला जेठ १२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाका अनुसार हालसम्म तीन सयभन्दा बढी तीर्थयात्री कुण्ड क्षेत्रमा पुगिसकेका छन् भने यस वर्ष करिब पाँच हजार भक्तजन आउने अनुमान गरिएको छ ।
शास्त्रमा वर्णित शिवको तपोभूमि
धार्मिक मान्यताअनुसार देवता र दानवबीच भएको समुद्र मन्थनबाट निस्किएको कालकूट विषले सृष्टि विनाश हुने अवस्था आएपछि भगवान् शिवले उक्त विष कण्ठमा धारण गरेका थिए । त्यसपछि विषको ताप कम गर्न शिव हिमालय क्षेत्रमा आएको र त्रिशूलले प्रहार गर्दा निस्किएको पवित्र जलबाट गोसाइँकुण्ड बनेको विश्वास गरिन्छ । यही कारण यस कुण्डको जललाई पाप नाश गर्ने, मन शुद्ध गर्ने तथा मोक्ष प्रदान गर्ने पवित्र जलका रूपमा मान्ने गरिन्छ ।
धार्मिक विश्वासअनुसार गङ्गादशहरामा गोसाइँकुण्डमा स्नान गर्दा दश प्रकारका पाप नाश हुने तथा जनैपूर्णिमामा स्नान गर्दा जन्मजन्मान्तरका दोष समाप्त हुने मान्यता छ । जीवनमा एकपटक गोसाइँकुण्ड दर्शन गरे मोक्ष प्राप्त हुने विश्वाससमेत रहिआएको छ ।


समुद्री सतहदेखि करिब १४ हजार १०० फिट उचाइमा अवस्थित यस तीर्थसम्म पुग्न श्रद्धासँगै धैर्य र साहस आवश्यक पर्ने यात्रुहरू बताउँछन् ।
कठिन पदयात्रापछि दिव्य अनुभूति
काठमाडौँबाट बालाजु बसपार्क हुँदै शिवपुरी, छहरे, ढुङ्गे, बेत्रावती, कालिकास्थान पार गरी धुञ्चे पुगेपछि पैदल यात्रा सुरु हुन्छ । धुञ्चेबाट शिवमन्दिर, त्रिशूली नदी किनार, चन्दनबारी (सिङ्गगोम्पा), चोलाङपाटी, लौरीविनायक, गणेश गौंडा हुँदै तेर्सो ककरो भिर पार गरेपछि अन्ततः गोसाइँकुण्ड पुगिन्छ ।
यात्रुहरूका अनुसार उकालो यात्रा कठिन भए पनि कुण्डमा स्नान गरेपछि सम्पूर्ण थकान हराएर नयाँ ऊर्जा र आध्यात्मिक आनन्द प्राप्त हुने अनुभूति मिल्ने गरेको छ ।
यात्रु व्यवस्थापन र सुरक्षा तयारी
बढ्दो यात्रु चापलाई मध्यनजर गर्दै होटल व्यवसायीहरूले आवश्यक खाद्यान्न ढुवानी गरिसकेको तथा खान–बस्नको व्यवस्थापन मिलाइएको बताएका छन् । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार जेठ ९ देखि १२ गतेसम्म विशेष पूजाआजाका लागि पुजारीको व्यवस्था गरिनेछ ।
यात्राका क्रममा समस्या परे नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल ले उद्धार तथा सुरक्षा सेवा निरन्तर सञ्चालन गर्ने जिल्ला प्रहरी प्रमुख अशोक थापाले जानकारी दिए ।
स्वास्थ्य सावधानी अपनाउन आग्रह
लौरीविनायकभन्दा माथिल्लो क्षेत्रमा उचाइका कारण लेक लाग्ने सम्भावना रहने भएकाले स्वास्थ्यकर्मीले विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । धुञ्चेमा एक रात बास बसेर शरीरलाई वातावरणसँग अनुकूल बनाएपछि मात्र माथि जान उपयुक्त हुने स्थानीयको सुझाव छ ।
यात्राका क्रममा अदुवा, कागती, लसुन तथा बिरेनुन साथमा लैजान, चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्न र हतार नगरी बिस्तारै उकालो चढ्न सुझाव दिइएको छ । पैदल यात्रा गर्न नसक्ने ज्येष्ठ नागरिकका लागि काठमाडौँबाट हेलिकोप्टर सेवासमेत उपलब्ध रहेको जनाइएको छ ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस