प्रतिबन्धित औषधि बिक्री प्रकरण: नुवाकोट बट्टारका दुई मेडिकल सञ्चालक प्रहरी नियन्त्रणमा
नुवाकोटको बट्टारमा प्रतिबन्धित औषधि बिक्री गरेको आरोपमा दुई मेडिकल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। औषधि व्यवस्था विभागको टोलीले गरेको अनुगमनका क्रममा सम्मान मेडिकलका सञ्चालक टलकमान श्रेष्ठ र अन्जना मेडिकलका केदार खड्का पक्राउ परेका हुन्।
अनुगमनका क्रममा उनीहरूले चिकित्सकको सिफारिस बिना नै संवेदनशील तथा प्रतिबन्धित औषधिहरू बिक्री गर्दै आएको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ अघि बढाएको छ। दुवै मेडिकलबाट केही मात्रामा प्रतिबन्धित औषधिहरू समेत बरामद गरिएको छ।
यस घटनासम्बन्धी थप अनुसन्धान औषधि व्यवस्था विभाग र प्रहरीको संयुक्त टोलीले गरिरहेको छ भने विस्तृत विवरण आउन बाँकी रहेको छ।
टलकमान श्रेष्ठ विदुर नगरपालिका–४ का पूर्व वडा अध्यक्ष तथा नेकपा (एमाले)सँग आबद्ध नेता समेत हुन्। यसअघि पनि उनको सम्मान मेडिकलमाथि संयुक्त अनुगमन टोलीले करिब दुई लाख रुपैयाँ जरिवाना गरेको थियो। साथै, उनले अघिल्लो अनुगमनका क्रममा टोलीप्रति विज्ञप्तिमार्फत असन्तुष्टि जनाउँदै दुर्व्यवहार गरेको आरोप समेत लागेको थियो।
घटनाले औषधि बिक्री वितरणमा नियमको कडाइ र प्रभावकारी अनुगमनको आवश्यकता पुनः उजागर गरेको छ।
क्याटेगोरी : समाचार





















प्रतिक्रिया दिनुहोस