लिखु गाउँपालिकामा निजी विद्यालयको शुल्क सीमा निर्धारण
नुवाकोटको लिखु गाउँपालिकाले आफ्ना क्षेत्रभित्र सञ्चालित संस्थागत (निजी) विद्यालयहरूको शुल्क सम्बन्धमा नयाँ व्यवस्था लागू गरेको छ। गाउँ कार्यपालिकाको कार्यालय अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाले एक सूचना जारी गर्दै विद्यालयहरूले लिने विभिन्न शीर्षकका शुल्कको सीमा निर्धारण गरेको जनाएको हो।
शाखा प्रमुख शेरसिन्ह रावतका अनुसार “संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७९” र “लिखु गाउँपालिका शिक्षा ऐन, २०८०” अनुसार कक्षा नर्सरीदेखि कक्षा १० सम्मका लागि शुल्कको दायरा तोकिएको हो। सोअनुसार नर्सरी तहमा मासिक शुल्क १५०० देखि ३००० रुपैयाँसम्म निर्धारण गरिएको छ भने अन्य कक्षामा पनि क्रमशः अधिकतम सीमा तय गरिएको छ।

सूचनामा उल्लेख भएअनुसार वार्षिक शुल्क मासिक शुल्कको आधारमा सीमित गरिनेछ भने भर्ना शुल्क मासिक शुल्क बराबर एक महिनाभन्दा बढी लिन पाइने छैन। त्यस्तै, परीक्षा शुल्क उच्च कक्षामा मात्र लागू गरिएको छ र स्थानान्तरण प्रमाणपत्र (टीसी) शुल्क सबै कक्षाका लागि १००० रुपैयाँ कायम गरिएको छ।
गाउँपालिकाले विद्यालय व्यवस्थापन समिति तथा अभिभावक भेलाबाट अनुमोदन गराई सोही सीमाभित्र रहेर शुल्क कार्यान्वयन गर्न निर्देशन दिएको छ। साथै, विद्यालयहरूले पाठ्यपुस्तक, स्टेशनरी तथा पोशाक बिक्री गर्न नपाउने, नेपाल सरकारले तोकेको पाठ्यक्रम मात्र प्रयोग गर्नुपर्ने पनि स्पष्ट पारिएको छ।

शाखा प्रमुख रावतले निर्देशिका उल्लङ्घन गरेको पाइएमा कारबाही गरिने चेतावनी दिँदै अभिभावक तथा सरोकारवालालाई अनियमितता देखिएमा जानकारी गराउन आग्रह गर्नुभयो।
यस निर्णयले निजी विद्यालयको शुल्क नियन्त्रण गरी अभिभावकमाथिको आर्थिक भार कम हुने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।
क्याटेगोरी : समाचार





















प्रतिक्रिया दिनुहोस