Techie IT
गृहपृष्ठसमाचारलिखु गाउँपालिकामा सुरक्षित आप्रवासन कार्यक्रम सम्पन्न, बचत र वित्तीय व्यवस्थापनमा जोड

लिखु गाउँपालिकामा सुरक्षित आप्रवासन कार्यक्रम सम्पन्न, बचत र वित्तीय व्यवस्थापनमा जोड


नुवाकोट — लिखु गाउँपालिका मा सुरक्षित आप्रवासन (सामी) रोजगारी प्रवर्द्धन कार्यक्रम अन्तर्गत २१ हप्ते वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सम्पन्न भएको छ। वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूका परिवारलाई लक्षित गरी सञ्चालन गरिएको उक्त कार्यक्रममा वडा नं. २ बाट २६ जना र वडा नं. ३ बाट २३ जना गरी जम्मा ४९ जनाको सहभागिता रहेको थियो।


कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष धुर्व श्रेष्ठ ले वैदेशिक रोजगारीबाट प्राप्त आम्दानीलाई सही ढंगले व्यवस्थापन गर्न सके मात्र परिवारको दीगो आर्थिक विकास सम्भव हुने बताउनुभयो। उहाँले सहभागीहरूलाई अनावश्यक खर्च घटाएर बचत गर्ने बानी विकास गर्न र सामूहिक बचत समूहमार्फत आर्थिक सशक्तिकरणतर्फ अघि बढ्न आग्रह गर्नुभयो।
विशेष अतिथिका रूपमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत असोक बिष्ट ले वित्तीय साक्षरताले परिवारको आर्थिक अवस्था सुधार्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। वडा अध्यक्ष प्रेमबहादुर थापा मगर ले यस्ता कार्यक्रमले स्थानीय तहमा सचेतना वृद्धि गर्नुका साथै बचत तथा लगानीको संस्कार बसाल्न सहयोग पुग्ने धारणा राख्नुभयो।
कार्यक्रममार्फत सहभागीहरूलाई आय–व्यय व्यवस्थापन, नियमित बचत गर्ने तरिका, ऋणको उचित उपयोग, साना उद्यममा लगानी गर्ने उपाय तथा मनोसामाजिक समस्या समाधानका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो। साथै, सहभागीहरूलाई समूहगत बचत तथा आपसी सहयोग प्रणालीमार्फत आपतकालीन अवस्थामा एकअर्कालाई सहयोग गर्ने अभ्याससमेत सिकाइएको आयोजकले जनाएको छ।
कार्यक्रमले वैदेशिक रोजगारीसँग जोडिएका परिवारहरूमा आर्थिक अनुशासन, बचत संस्कार र मानसिक सुदृढता विकास गर्न टेवा पुर्‍याउने विश्वास लिइएको छ।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस