अध्यक्ष अधिकारीको निर्देशन: तारकेश्वरका विद्यालय आइतबार पनि खुल्ने
शनिबार, २८ चैत २०८२
नुवाकोटको तारकेश्वर गाउँपालिकाले नयाँ शैक्षिक सत्र सुरु हुने सन्दर्भमा शैक्षिक संस्थाहरूका लागि चार बुँदे निर्देशन जारी गरेको छ। गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समिति संयोजक शिव अधिकारी अविरलले संघीय सरकारको सातामा दुई दिन बिदा दिने नीतिप्रति सन्दर्भ जोड्दै स्थानीय अवस्थालाई ध्यानमा राखेर विद्यालय सञ्चालनसम्बन्धी स्पष्ट मार्गदर्शन दिनुभएको हो।
गाउँपालिकाले तयार गरिसकेको वार्षिक शैक्षिक क्यालेण्डरबीच संघीय सरकारको निर्णय आएपछि केही कार्यतालिका परिमार्जन गरिएको छ। अध्यक्ष अधिकारीका अनुसार वैशाख १५ गतेअघि भर्ना कार्यक्रम सञ्चालन गर्न नपाइने भएकाले सो अवधिमा विद्यालयहरूले वैकल्पिक गतिविधि सञ्चालन गर्नेछन्।
निर्देशनअनुसार वैशाख २ गतेदेखि १५ गतेसम्म विद्यालयहरूले ‘बुक फ्री डे’ का कार्यक्रम, अतिरिक्त क्रियाकलाप, मनोरञ्जन, मनोपरामर्श, सीप विकास तथा योग–ध्यानका गतिविधि सञ्चालन गर्नेछन्। यसै अवधिमा शिक्षकहरूबीच शैक्षिक योजना निर्माण, सामूहिक छलफल तथा सीप आदानप्रदानका कार्यक्रम पनि सञ्चालन गरिनेछ।
त्यसैगरी, वैशाख १५ गतेदेखि २१ गतेसम्म भर्ना कार्यक्रम सञ्चालन गरिने र वैशाख २१ गतेदेखि नियमित पठनपाठन सुरु गरिने निर्णय गरिएको छ।
महत्त्वपूर्ण रूपमा, गाउँपालिकाले सातामा दुई दिन विद्यालय बन्द गर्ने संघीय नीतिलाई तत्काल कार्यान्वयन नगर्ने स्पष्ट गरेको छ। विद्यार्थीहरूको सिकाइमा नकारात्मक असर पर्ने ठहर गर्दै गाउँपालिकाले शनिबार मात्रै बिदा दिने र आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो।

यद्यपि, विद्यालयबाहेक अन्य कार्यालयहरू भने संघीय सरकारकै नीति अनुसार सातामा दुई दिन बन्द रहनेछन् र बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछन्।
निर्देशनको प्रभावकारी कार्यान्वयनका लागि शिक्षा शाखा, विद्यालयका प्रधानाध्यापक तथा गाउँ प्रहरीलाई अनुगमनको जिम्मेवारी दिइएको गाउँपालिकाले जनाएको छ।
क्याटेगोरी : समाचार





















प्रतिक्रिया दिनुहोस