Techie IT
गृहपृष्ठसमाचारनुवाकोट बेलकोटगढीका युवाद्वारा शिक्षा, कृषि र पूर्वाधार सुधारको माग

नुवाकोट बेलकोटगढीका युवाद्वारा शिक्षा, कृषि र पूर्वाधार सुधारको माग


नुवाकोट बेलकोटगढी नगरपालिकाका युवाहरूले शिक्षा, पूर्वाधार, कृषि तथा सेवा प्रवाह सुधारका विभिन्न विषयमा ध्यानाकर्षण गराउँदै नगरप्रमुखसमक्ष ज्ञापनपत्र पेश गरेका छन्।
युवाहरूले हाल नगरपालिकाभित्रका विद्यालयहरूमा कम्प्युटर उपलब्ध भए पनि SEE परीक्षा पश्चात् विद्यार्थीहरू निष्क्रिय बस्नुपर्ने अवस्था रहेको उल्लेख गरेका छन्। उनीहरूले यस अवधिमा आधारभूत कम्प्युटर तालिम (MS Word, Excel, Internet तथा Online Form सम्बन्धी) सञ्चालन गर्न माग गरेका छन्, जसले विद्यार्थीहरूको व्यवहारिक सीप विकासमा टेवा पुग्ने विश्वास लिएको छ।
त्यसैगरी, नगरभित्र निर्माण भएका भौतिक संरचनाहरू (भवन, ट्यांकी आदि) संरक्षण अभावका कारण जीर्ण बन्दै गएको भन्दै नियमित अनुगमन तथा मर्मतको आवश्यकता औंल्याइएको छ।
खानेपानी व्यवस्थापनतर्फ ध्यानाकर्षण गराउँदै निर्माण सम्पन्न भए पनि कतिपय खानेपानी योजनाबाट अझै पनि पानी आपूर्ति हुन नसकेको गुनासो गरिएको छ। त्यस्ता योजनालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन आवश्यक पहल गर्न आग्रह गरिएको छ।
युवाहरूले नगरभित्र निर्माणाधीन तथा निर्माण सम्पन्न सडकहरूको अवस्था अव्यवस्थित रहेको उल्लेख गर्दै गुणस्तरीय निर्माण, प्रभावकारी अनुगमन र समयमै मर्मत आवश्यक रहेको बताएका छन्। साथै, बजेट कार्यान्वयनमा पारदर्शिता र प्रभावकारितामा जोड दिएका छन्।
स्वास्थ्य सेवातर्फ पनि सुधारको माग गर्दै नगरवासीलाई सहज, प्रभावकारी र पहुँचयोग्य स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक योजना अघि बढाउन अनुरोध गरिएको छ।
कृषि क्षेत्रअन्तर्गत विशेष गरी आलु खेतीमा समस्या देखिएको भन्दै किसानहरूले उत्पादनको उचित मूल्य नपाएको र कोल्ड स्टोरमा प्रत्यक्ष पहुँच नपाएको गुनासो गरिएको छ। यसका लागि उचित मूल्य सुनिश्चित गर्न तथा कोल्ड स्टोरमा किसानको पहुँच सुनिश्चित गर्ने नीति ल्याउन माग गरिएको छ।
उक्त ज्ञापनपत्र बेलकोटगढीका युवाहरूले संयुक्त रूपमा पेश गरेका हुन्।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस