नुवाकोटमा एसइई परीक्षा तयारी तीव्र, ४२ सयभन्दा बढी विद्यार्थी सहभागी हुने
विदुर, नुवाकोट – नुवाकोट जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को तयारी तीव्र पारिएको छ। शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटले परीक्षा केन्द्र निर्धारणसहित आवश्यक व्यवस्थापनको काम अघि बढाएको जनाएको छ।
आगामी चैत्र १९ देखि २९ गतेसम्म सञ्चालन हुने एसइई परीक्षाका लागि नुवाकोटमा १९ वटा परीक्षा केन्द्र तोकिएका छन्। जिल्लाभरका विभिन्न विद्यालयबाट ४ हजार २ सय २५ जना विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन्।
शिक्षा विकास तथा समन्वय इकाई नुवाकोटका प्रमुख रामचन्द्र इटनीका अनुसार परीक्षामा सहभागी हुनेमध्ये ३ हजार १ सय ७२ जना नियमित, २ सय २६ जना प्राविधिक धारका र ८ सय २७ जना ग्रेडवृद्धि परीक्षार्थी रहेका छन्।
गत वर्ष नुवाकोटमा एसइई परीक्षाका लागि २१ वटा परीक्षा केन्द्र तोकिएको थियो भने यस वर्ष दुई केन्द्र घटाएर १९ केन्द्र कायम गरिएको छ। प्रत्येक केन्द्रमा दुई सयभन्दा बढी विद्यार्थीलाई समावेश गरिएको बताइएको छ।
जिल्लामा तोकिएका परीक्षा केन्द्रहरूमा चण्डेश्वरी मावि तुप्चे, त्रिभुवन त्रिशूली मावि त्रिशूली, रणभुवनेश्वरी मावि देवीघाट, महादेव मावि रातमाटे, भवानी मावि रानीपौवा, अर्किड एकेडेमी बट्टार, भैरुम मावि हात्तिगौडा, च्वाडी पब्लिक मावि माझिटार, नवजीवन मावि ककनी र क्षेत्रपाल मावि चौघडा रहेका छन्।
त्यसैगरी अमरज्योति मावि खरानीटार, बागेश्वरी मावि चोकदे, जनज्ञान निकेतन मावि थानापति, कामरुदेवी मावि दुईपीपल, सुन्दरा मावि सातबिसे, रुक्मिणी मावि समुन्द्रटार, कुण्डला मावि भद्रुटार, सुभेनियर बोर्डिङ स्कुल बट्टार र पृथ्वी मावि विदुरलाई पनि परीक्षा केन्द्रका रूपमा तोकिएको छ।
गत वर्ष नुवाकोटमा एसइई परीक्षामा ३ हजार ६ सय ७० जना विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ५८.८२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।
क्याटेगोरी : समाचार





















प्रतिक्रिया दिनुहोस