Techie IT
गृहपृष्ठसमाचारविद्यालय लक्षित खोप सञ्चालनमा सरोकारवालाको छलफल

विद्यालय लक्षित खोप सञ्चालनमा सरोकारवालाको छलफल


नुवाकोट — सरकारले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि २०८१ सालदेखि एचपिभी (HPV) खोपलाई नियमित खोप कार्यक्रममा समावेश गरेसँगै जिल्लामा विद्यालय केन्द्रित खोप सञ्चालनको तयारी तीव्र बनाइएको छ।
यसै सन्दर्भमा जिल्ला खोप समन्वय समितिको बैठक तथा स्वास्थ्य कार्यालय, शिक्षा शाखा, विद्यालय प्रतिनिधि र अन्य सरोकार निकायहरूसँग विस्तृत छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा खोप सञ्चालनको मोडालिटी, लक्षित समूह, खोप केन्द्र व्यवस्थापन तथा अनुगमन प्रणालीका विषयमा विस्तृत प्रस्तुतीकरण गरिएको थियो।
खोप अधिकृत अमृत महर्जनका अनुसार जिल्लामा हाल नियमित तथा मासिक रूपमा खोप केन्द्रहरू सञ्चालन भइरहेका छन्। प्रस्तुत तथ्याङ्कअनुसार जिल्लामा कुल २२५ खोप केन्द्र रहेका छन्, जसमध्ये संस्थागत १७ र बाह्य २३१ केन्द्र रहेका छन्। ती केन्द्रहरूबाट मासिक रूपमा हजारौँ बालबालिका र महिलाहरू लाभान्वित भइरहेका छन्।
विद्यालय केन्द्रित खोप अभियान
बैठकमा विद्यालयमा अध्ययनरत कक्षा ६ मा अध्ययनरत किशोरीहरू तथा विद्यालय नजाने १० वर्षका किशोरीहरूलाई लक्षित गरी एचपिभी खोप सञ्चालन गर्ने निर्णय गरिएको छ। यसका लागि विद्यालय, स्वास्थ्य संस्था र स्थानीय तहबीच समन्वय गरी खोप सञ्चालन गरिनेछ।
खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मी, शिक्षक तथा महिला स्वास्थ्य स्वयंसेविकाको परिचालन, अभिमुखीकरण तथा समुदायस्तरमा सूचना प्रवाहलाई प्राथमिकता दिइने बताइएको छ।
एचपिभी (HPV) खोप किन आवश्यक ?
एचपिभी (Human Papillomavirus) एक प्रकारको भाइरस हो, जसका कारण पाठेघरको मुखको क्यान्सर हुने जोखिम अत्यधिक हुन्छ। नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख समस्याका रूपमा रहेको छ।
विशेषज्ञहरूका अनुसार किशोरावस्थामै एचपिभी खोप लगाउँदा भविष्यमा क्यान्सर हुने सम्भावना ७० देखि ९० प्रतिशतसम्म घटाउन सकिन्छ। त्यसैले यौन सम्पर्क सुरु हुनु अघि नै यो खोप लगाउनु सबैभन्दा प्रभावकारी मानिन्छ।
लक्षित समूह
कक्षा ६ मा अध्ययनरत किशोरीहरू
विद्यालय नजाने १० वर्ष उमेर पूरा गरेका किशोरीहरू
नियमित खोप कार्यक्रमबाट छुटेका योग्य बालिका
खोप सुरक्षित र निःशुल्क
स्वास्थ्य कार्यालयले एचपिभी खोप पूर्ण रूपमा सुरक्षित, प्रभावकारी र निःशुल्क रहेको स्पष्ट पारेको छ। खोपपछि सामान्य ज्वरो वा सुई लगाएको ठाउँमा हल्का दुखाइ देखिन सक्ने भए पनि गम्भीर समस्या नदेखिने बताइएको छ।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले एचपिभी खोप अभियानलाई सफल बनाउन स्थानीय तह, विद्यालय, अभिभावक र समुदायको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिएका छन्।


क्याटेगोरी : समाचार


प्रतिक्रिया दिनुहोस