Techie IT
गृहपृष्ठविचार / ब्लगनुवाकोट–१ मा बद्री मैनालीको पुनरागमन : अनुभव, परीक्षण र अपेक्षा

नुवाकोट–१ मा बद्री मैनालीको पुनरागमन : अनुभव, परीक्षण र अपेक्षा


केदार ढकाल

नुवाकोट–१ को राजनीतिक वृत्तमा बद्री मैनालीको नाम फेरि केन्द्रमा आएको छ। आसन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवारका रूपमा मैदानमा उत्रिएका मैनालीका लागि यो चुनाव केवल व्यक्तिगत पुनरागमनको प्रयास होइन, अघिल्ला निर्वाचनबाट बाँकी रहेका राजनीतिक अपेक्षाहरूलाई पुनःजोड्ने अवसर पनि हो।
मैनालीलाई नुवाकोटको राजनीतिमा ‘कम बोल्ने तर काम देखाउने’ नेताका रूपमा लिनेहरू कम छैनन्। यसको आधार उनको २०७४ सालको प्रदेशसभा निर्वाचनमा देखिएको सशक्त जनसमर्थन र त्यसपछिको कार्यकाल हो। नुवाकोट क्षेत्र नं. १ (ख) बाट तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार बनेका उनले २०,५०९ मतसहित स्पष्ट जित निकाले। त्यसपछि बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीका रूपमा उनले ग्रामीण सडक विस्तार, कृषि आधुनिकीकरण र जनमुखी प्रशासनमा देखाएको सक्रियता अझै मतदाताको स्मृतिमा छ।
विशेषगरी लिखु, सूर्यगढी र दुप्चेश्वर क्षेत्रका दुर्गम बस्तीहरूमा सडक पहुँच विस्तार, किसानलाई लक्षित अनुदान कार्यक्रम र मन्त्री पदमा रहँदा पनि जनताको घरदैलोमा पुग्ने कार्यशैलीले उनलाई ‘ग्राउन्ड लेभल’को नेता बनायो। यही कारण, उनको राजनीतिक यात्रा केवल पद र अवसरमा सीमित देखिएन, बरु स्थानीय आवश्यकतासँग गाँसिएको अनुभवका रूपमा स्थापित भयो।
२०७९ को प्रतिनिधिसभा निर्वाचनमा मैनालीले सत्ता गठबन्धनका साझा उम्मेदवारसँग प्रत्यक्ष प्रतिस्पर्धा गरे। प्रतिकूल राजनीतिक समीकरणका बाबजुद उनले २३,४६३ मत प्राप्त गरे र विजेतासँगको मतान्तर ३,०८३ मा सीमित रह्यो। यो परिणामलाई सामान्य हारका रूपमा मात्र लिन सकिँदैन। बरु यसले नुवाकोट–१ मा एमालेको संगठनात्मक आधार र मैनालीको व्यक्तिगत प्रभाव अझै कमजोर नभएको सन्देश दिएको छ।
यसपटक मैनालीले अघि सारेका एजेन्डाहरूले पनि उनलाई पुनः चर्चामा ल्याएको छ। ककनी, सूर्यगढी, लच्याङ र भैरबी लगायत क्षेत्रमा दशकौँदेखि जटिल बनेका गुठी जग्गा समस्याको स्थायी समाधान, लिखुमा पर्यटकीय ताल निर्माण, दुप्चेश्वर महादेव क्षेत्रको धार्मिक तथा पर्यटन विकास, तथा टोखा–छहरे सुरुङमार्ग र पासाङ ल्हामु राजमार्गलाई प्राथमिकतामा राखेर कनेक्टिभिटी सुधार गर्ने योजना उनका मुख्य प्रतिबद्धतामा पर्छन्।
राजनीतिमा अनुभवलाई कहिलेकाहीँ बोझका रूपमा व्याख्या गरिन्छ। तर नुवाकोट–१ को सन्दर्भमा भने अनुभव नै अहिलेको मुख्य प्रश्न र आवश्यकता बनेको देखिन्छ। प्रदेश सांसद र मन्त्रीका रूपमा परीक्षण भइसकेको नेतृत्व, केन्द्रसँगको पहुँच र युवा तथा रोजगारीमैत्री सोचका कारण मैनालीलाई पुनः एक सम्भावित विकल्पका रूपमा मतदाताले हेर्न थालेका छन्।
अन्ततः यो निर्वाचन बद्री मैनालीका लागि मात्र होइन, नुवाकोट–१ का मतदाताका लागि पनि निर्णयको घडी हो—नयाँ अनुहारको प्रयोग गर्ने कि अघिल्लो अनुभवलाई संघीय तहमा उपयोग गर्ने ? २०७४ को कार्यकाल र २०७९ को जनमतको बीचमा उभिएको यो चुनावले नुवाकोटको आगामी विकासदिशा तय गर्नेछ।


क्याटेगोरी : विचार / ब्लग, समाचार


प्रतिक्रिया दिनुहोस