Techie IT
गृहपृष्ठभिडियोलिखु गाउँपालिकाद्वारा अविवाहित एकल महिलाको सम्मान तथा अन्तरक्रिया

लिखु गाउँपालिकाद्वारा अविवाहित एकल महिलाको सम्मान तथा अन्तरक्रिया


नुवाकोटको लिखु गाउँपालिकाले ४० वर्ष नाघेका तर अझै अविवाहित रहेका एकल महिलालाई सम्मान गर्दै उनीहरूका समस्या, चुनौती र समाधानका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। लिखु गाउँपालिकाको महिला शाखाको आयोजनामा भएको कार्यक्रममा पालिकाका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृतसहित पालिकाका ६ वटै वडाका अविवाहित एकल महिलाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपाध्यक्ष शुभद्रा अधिकारीले अन्य एकल महिलाले सरकारबाट केही न केही सहयोग पाउँदै आए पनि अविवाहित एकल महिलाको विषयमा पर्याप्त चासो नदेखिएको बताउनुभयो। उहाँले अविवाहित एकल महिलालाई पनि अन्य महिलाझैँ सीपमूलक तालिम र आम्दानीका स्रोत उपलब्ध गराउने जिम्मेवारी स्थानीय तहको भएको उल्लेख गर्दै सो जिम्मेवारी लिन गाउँपालिका तयार रहेको बताउनुभयो। उपाध्यक्ष अधिकारीले अविवाहित एकल महिलाहरू संगठित रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।

यस्तै कार्यक्रममा लिखु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्टले महिलालाई सीपमूलक बनाउँदै आत्मनिर्भर बनाउने उद्देश्यका साथ गाउँपालिका आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो।

कार्यक्रममा लिखु गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष नरहरी पाण्डेले अविवाहित एकल महिलाहरू संगठित भई आफूमाथि आएका समस्या र चुनौतीसँग लड्दै आफ्ना हकअधिकारको खोजी गर्नुपर्ने बताउनुभयो।

कार्यक्रमले अविवाहित एकल महिलाहरूको आवाजलाई स्थानीय तहसम्म पुर्याउने र उनीहरूका लागि लक्षित कार्यक्रम सञ्चालन गर्न महत्वपूर्ण आधार तयार गरेको आयोजकले जनाएको छ।




क्याटेगोरी : भिडियो, समाचार


प्रतिक्रिया दिनुहोस