समुदाय सशक्तीकरणतर्फ लिखु गाउँपालिकाको महत्वपूर्ण पहल: २१ हप्ते कक्षा सुरु
नुवाकोट । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत लिखु गाउँपालिकाले सञ्चालन गर्न लागिरहेको शिवालय वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा मंसिर २३ गते मंगलबार औपचारिक रूपमा सुरु गरिएको छ। वडा नं. २, माझीपानीमा कक्षाको उद्घाटन वडा अध्यक्ष प्रेम बहादुर थापा मगरले गर्नु भएको थियो ।
उद्घाटन सत्रमा अध्यक्ष थापा मगरले विदेशमा रोजगारीरत नागरिकका परिवारलाई वित्तीय व्यवस्थापन, बचत–निवेशका सिद्धान्त तथा मनोसामाजिक सुदृढीकरणमार्फत सक्षम बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताएका थिए। साथै, सामी कार्यक्रमले सुरक्षित वैदेशिक रोजगार र परिवारको सामाजिक तथा आर्थिक सुदृढीकरणमा महत्वपूर्ण योगदान दिइरहेको उनको भनाइ थियो । २१ हप्तासम्म चल्ने कक्षाले समुदायमा दीगो आर्थिक व्यवहार, मानसिक सशक्तिकरण तथा सचेत अभिवृत्ति विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास वडाअध्यक्ष थापामगरले व्यक्त गरे।
उद्घाटन समारोहपछि सहभागीहरूलाई आवश्यक पाठ्य–सामग्री तथा कक्षा सञ्चालनसम्बन्धी जानकारी प्रदान गरिएको थियो। स्थानीय प्रतिनिधि, महिला समूह, युवा तथा समुदायका विभिन्न क्षेत्रबाट सहभागीहरूको उत्साहपूर्ण उपस्थितिले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको थियो।

लिखु गाउँपालिकाले सुरक्षित आप्रवासनका मूल्य र मान्यतासहित वैदेशिक रोजगार प्रभावित परिवारहरूको जीवनस्तर उकास्न लक्ष्य राखी यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ।
क्याटेगोरी : समाचार























प्रतिक्रिया दिनुहोस