रसुवाको तातोपानीमा पुनः स्थिर रूपमा पानी बग्न थालेपछि स्थानीय उत्साहित
आमाछोदिङ्मो गाउँपालिका–५ मा अवस्थित चिलिमे तातोपानी कुण्डमा स्नान गर्न आउने भक्तजनको संख्या हालसँगै पुनः बढ्न थालेको छ। विभिन्न रोग निको हुने विश्वासका कारण तातोपानी स्नानस्थलमा सर्वसाधारणको आकर्षण बढ्दो छ।
वि.सं. २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि प्रभावित बनेको यस तातोपानी कुण्डमा पानी प्रवाह केही समय अवरुद्ध भएको थियो। तर पछिल्ला महिनादेखि पुनः तातोपानी निस्कन थालेपछि स्नानार्थीको भीड क्रमशः बढ्दै गएको स्थानीय सिङ्गी तामाङले बताए। उनका अनुसार दैनिक १०–१५ जनासम्म भक्तजन स्नान गर्न आउने गरेका छन्।
करिब २० वर्षअघि ग्रामीण गरिबी निवारणका लागि सञ्चालन गरिएको पर्यटन कार्यक्रमअन्तर्गत सो क्षेत्रमा ढुङ्गाधारा र पोखरीको निर्माण गरिएको थियो। नुवाकोटको मेघाङ गाउँपालिका–२ बुङ्ताङ निवासी ६४ वर्षीया लालीमाया तामाङले तातोपानीमा स्नान गरेपछि शरीरका विभिन्न समस्या निको भएको अनुभव सुनाइन्। विदुर नगरपालिका–बट्टारका रामप्रसाद पौडेल र देवकी पौडेलले पनि शारीरिक समस्या समाधानका लागि तातोपानी धेरै उपयोगी भएको बताए।
हिन्दुधार्मिक श्रद्धा, प्राकृतिक तातोपानीको विशेषता र रोग उपचारको विश्वासका कारण रसुवासहित आसपासका जिल्लाबाट समेत भक्तजन यहाँ आएका छन्।
Source: रासस
क्याटेगोरी : समाचार
ट्याग : #hot























प्रतिक्रिया दिनुहोस