संघर्ष र प्रेमको कथा बोल्ने ‘बयान’ म्युजिक भिडियो सार्वजनिक

नुवाकोट — चर्चित गायक प्रताप दास र लोकप्रिय गायिका समिक्षा अधिकारीको स्वरमा सजिएको बहुप्रतिक्षित म्युजिक भिडियो ‘बयान’ शनिबार नुवाकोटको वट्टारमा भव्य कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ ।
विदुर, वट्टार, त्रिशूली, कोलोनीलगायत नुवाकोटका आकर्षक तथा पर्यटकीय स्थलमा छायांकन गरिएको यो म्युजिक भिडियो वट्टार बजारस्थित शिवालय सिनेप्लेक्समा विमोचन गरिएको हो । कार्यक्रममा सहभागी कलाकार र निर्माताहरूले “जीवनमा संघर्ष, लगाव, मेहनत र त्यागलाई आत्मसात गर्न सके सफलता अवश्य आउँछ” भन्ने संदेश भिडियोले दिन सफल भएको बताए।
भिडियोमा विदुर नपा–१२ का सन्तोष सरगम अधिकारी र प्रियना आचार्य मुन्नीलाई मुख्य भूमिकामा देख्न सकिन्छ। अधिकारीकै शब्द–रचना र निर्माणमा तयार भएको यस गीतलाई सरोज पोखरेलले संगीत भरिदिएका हुन् भने रोशन दासले निर्देशन गरेका हुन्। छायांकन नितेश घतान, सम्पादन बिनोद बम र पोस्ट–प्रोडक्सन रेज इन्टरटेन्मेन्टमार्फत गरिएको हो।
सार्वजनिक कार्यक्रममा कलाकार र निर्माण पक्षले यो भिडियोले जीवन र सफलताको कथा मात्र नभई नुवाकोटका सौन्दर्य र सम्भावनालाई पनि उजागर गर्ने विश्वास व्यक्त गरे। रचनाकार तथा निर्माता अधिकारीले भने, “यो मेरो पहिलो म्युजिक भिडियो हो, दर्शकको मन जित्ने अपेक्षा लिएको छु।”
भिडियोमा सन्तोष र प्रियनाको आकर्षक केमेस्ट्रीसँगै नारायण बिक, रुपा पुडासैनीलगायत कलाकारको साथसमेत छ। साथै, निर्माण संयोजकमा पुर्णमान श्रेष्ठ रहेका छन्।
‘बयान’ म्युजिक भिडियो सरोज पोखरेलको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो। नुवाकोटका रमणीय दृश्य, प्रेम–संघर्ष र भावनात्मक कथावस्तुले भरिएको यो भिडियोले दर्शकमाझ चाँडै नै व्यापक चर्चा बटुल्ने अपेक्षा गरिएको छ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया दिनुहोस